काठमाडौँ, २४ जेठ
नेपाली काँग्रेसले वर्तमान सरकार कामचलाउ सरकारमा परिवर्तन भइसकेको भन्दै महत्वपूर्ण राजनीतिक नियुक्ति तथा निर्णय नगर्न प्रधानमन्त्री झलनाथ खनालसँग आग्रह गरेको छ ।
महामन्त्री सिंहले सरकार कामचलाउमा परिवर्तन भई अर्का सरकारको गठन प्रक्रिया सुरु भइसकेको हुँदा यस्तो कामचलाउ सरकारले दीर्घकालीन असर पुग्ने राजनीतिक नियुक्ति तथा निर्णय नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
साथै, सरकारले विधि प्रक्रियासमेत उल्लङ्घन गरी आर्थिक वर्षको अन्त्यमा जथाभावी बजेट रकमान्तर गरी दुरुपयोग गर्न लागेकामा पनि यस्तो कार्य तुरुन्त रोक्न सो ध्यानाकर्षणपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारीको नियुक्ति गर्न लागेको भन्दै नियुक्ति नगर्न आग्रह गरिएको छ ।
सो पार्टीको हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले सरकारलाई कुनै पनि नियुक्ति एवम् दीर्घकालीन असर पुग्ने निर्णय नगर्न आग्रह गरेको थियो ।
तीन राजनीतिक दलका शीर्ष नेताबीच गत जेठ १४ गते भएको पाँचबुँदे सहमतिपछि वर्तमान सरकार स्वतः कामचलाउमा परिवर्तन भएको भन्दै सरकारलाई दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय एवम् नियुक्ति नगर्न प्रधानमन्त्री खनालको ध्यानाकर्षण गराएको नेकाँले जनाएको छ ।
प्रधानमन्त्री खनालसँग नेकाँका महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी सो ध्यानाकर्षण गराएको हो ।
