पर्सा, २० जेठ
हतियार देखाइ रकम लुट्ने दुईजनालाई प्रहरीले पर्साको बेलवाबाट पक्राउ गरेको छ ।
प्रहरीचौकी मिलन चोक र सशस्त्र प्रहरी बेस क्याम्पको संयुक्त टोलीले बेलवा–९ मा निर्माणाधीन बाँध परियोजनाका लेखापाल बटखरी साहलाई हतियार देखाइ रकम लुट्ने प्रयास गर्दै गरेको अवस्थामा बेल्वा– ३ का जुमान अन्सारी र इस्लामुद्दिन अन्सारीलाई गएराति पक्राउ गरेको हो ।
प्रहरीले राति करिब ९ बजे एक थान नलकटुवा पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । आवश्यक कारवाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक भीमकिरण बोगटीले बताए ।
हतियारसहित पक्राउ परेका अन्सारीद्वय विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी जिल्ला प्रहरी कार्यालय पर्साले गरिरहेको निरीक्षक बोगटीले जानकारी दिए
।