काठमाडौँ, १२ जेठ
राष्ट्रपति डा रामवरण यादवले मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
संविधानसभाको समयावधि सकिन दुईदिन बाँकी रहँदा राष्ट्रपति डा यादवसँग नेताहरूको यो भेटलाई र्अपूर्णरूपमा हेरिएको छ । प्रमुख दलहरूबीच संविधानसभाको समयावधि थप्ने वा नथप्ने वा कति थप्ने भन्ने विषयमा सहमति हुन सकिरहेको छैन ।
छलफलमा शीर्ष नेताहरूले शान्तिप्रक्रिया र संविधान लेखनका सम्बन्धमा हालसम्म भएका प्रगति र मतैक्यता हुन नसकेका विषयबारे राष्ट्रपति डा यादवलाई जानकारी गराएका छन् ।
नेपाली काँग्रेस र नेकपा (एमाले)ले शान्तिप्रक्रिया टुङ्ग्याउने स्पष्ट खाकासहितको सुनिश्चितता एनेकपा (माओवादी)ले नगरेसम्म संविधानसभाको समयावधि थप्नुको कुनै औचित्य नरहने आ–आफ्नो दलीय धारणा राख्दै आएका छन् ।
एनेकपा (माओवादी)ले नेपाली जनताले ६० वर्षदेखि संविधानसभा मार्फत संविधान प्राप्त गर्ने आकांक्षालाई तुहाउने खेलमा नेकालगायतका पार्टीहरू लागेर संविधानसभाको म्याद नथप्ने भनाइ आइरहेको तर्क गर्दै राष्ट्रिय सहमति कायम गरी संविधानसभाबाटै संविधान जारी गर्न समयावधि थप गर्ने विषयलाई यो वा त्यो विषयसँग जोड्नु नहुने धारणा राख्दै आएको छ ।
बैठकपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति डा यादवले शीर्ष तीन दल नेताहरूलाई राष्ट्रिय सहमति कायम गरी अगाडि बढ्न आह्वान गर्नुभएको जानकारी दिए । राष्ट्रपति डा यादवले राष्ट्रिय सहमतिका लागि जिम्मेवार भएर अघि बढ्न आग्रह गरेको जानकारी दिए ।