काठमाडौँ, ९ जेठ
मधेसी जनअधिकार फोरम नेपाल विभाजित भएर जयप्रकाशप्रसाद गुप्ताको नेतृत्वमा आज मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) दल गठन गरिएको छ ।
नयाँ गठित मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को संसदीय दलको कार्यसमितिसमेत गठन गरिएको छ । सो दलको नेतामा जयप्रकाशप्रसाद गुप्ता, उपनेता नन्दनकुमार दत्त, मुख्य सचेतक चन्द्रिकाप्रसाद यादव, सवितादेवी यादव, राजलाल यादव, सुरिताकुमारी साह र आत्मारामप्रसाद साह रहेका छन् । यसअघि मधेसी जनअधिकार फोरम नेपाल दुईवर्ष अघि पनि विभाजित भएको थियो ।
यसैगरी अन्य सभासद्हरूमा रम्भादेवी यादव, शिवपुजन राय यादव, सलमा खातुन मिकरानी, आत्मारामप्रसाद साह, ओमप्रकाश यादव, चन्द्रिकाप्रसाद यादव, सन्ध्या देव, मधुसुदन अग्रवाल, विश्वनाथप्रसाद यादव र अकवाल अहमद रहेकाछन् ।
मधेसी जनअधिकार फोरमबाट विभाजित भएर गणतान्त्रिकमा आवद्ध भएका सभासद्हरूमा राजलाल यादव, नन्दनकुमार दत्त, सवितादेवी यादव, जयप्रकाशप्रसाद गुप्ता, राजकिशोर यादव र सुरिताकुमारी साह रहेकाछन् । साथै अध्यक्ष उपेन्द्र यादवको नेतृत्वको कमजोरीबाट पार्टी र संसदीय दलमा विभाजनको अवस्थासम्म आउँदा पनि पार्टीको एकताको पक्षमा काम गर्न असफल एवम् असक्षम भएको र मधेसी जनताको भावना विपरीत काम गरेको आरोप लगाइएको छ ।
जनताको भावना विपरीत पार्टी सत्ता स्वार्थमा लिप्त भएका कारण नयाँ दल गठन गर्नुपरेको बताइएको छ । नयाँ राजनीतिक दल गठन गरिएकोबारे सभामुखलाई दिइएको जानकारीमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले पार्टीको उद्देश्य प्राप्तिमा इमान्दारीका साथ काम गर्न नसकेको आरोप लगाइएको छ ।
नयाँ गठन भएको दलको संसदीय दलको कार्यसमितिसमेत गठन गरिएको घोषणा गरिएको छ । नयाँ गठन भएका दलका सभासद्हरूले सभामुख र संसद्का कर्मचारीको रोहवरमा सनाखत समेत गरेको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।
दल त्याग ऐन २०५४ को दफा ५(२) बमोजिम संविधानसभाका अध्यक्ष संविधानसभा सचिवालय र व्यवस्थापिका–संसद्को सचिवालयलाई दल गठनको जानकारी दिइएको छ ।
उपेन्द्र यादव अध्यक्ष रहुनभएको मधेसी जनअधिकार फोरमका २५ सभासद्मध्ये १३ जनाले मधेसी जनअधिकार फोरमबाट विभाजित भएर मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नामको दल संसद् सचिवालयमा दर्ता गराएका छन् ।