काठमाडौँ, ५ जेठ
शान्तिप्रक्रिया र संविधान लेखन अहिलेको प्राथमिक कार्य भएकाले यसको समाधानका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा प्रधानमन्त्री झलनाथ खनाल र नेपाली काँग्रेसका सभापति सुशील कोइराला सहमति जनाएका छन् ।
काँग्रेस सभापति कोइराला निवासमा आज बिहान प्रधानमन्त्री खनाल र कोइरालाबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।
शान्तिप्रक्रिया र संविधान लेखनको काम अहिलेको जटिल र सङ्गीन मुद्दा भएकाले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न तयार भएका हुन् ।
संविधानसभाको म्याद सकिने मिति जेठ १४ नजिक मुलुक आइपुगेकोले देशलाई अघि बढाउने विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने अहिलेको अवस्थामा आफूले सभापति कोइरालासँग देशको परिस्थितिबारे छलफल गरेको प्रधानमन्त्री खनालले बताए ।
भेटघाटको अवसरमा दुवैबीच जेठ १४ मा संविधान सभाको म्याद थप्नेबारेमा पनि छलफल भएको थियो । संविधानसभाको म्याद एक वर्ष थप्ने गरी संविधानको नवौं संशोधन विधेयक संसद सचिवालयमा दर्ता भएपछि प्रधानमन्त्री खनालले दलहरुसँगको भेटवार्तालाई तीव्र बनाएका छन् । राजनीतिक दलहरुबीच पनि यही विषयलाई लिएर वार्ता र छलफलको क्रम निकै बढेको छ ।