काठमाडौँ ५ जेठ
संवैधानिक समितिअन्तर्गत विवाद समाधन गर्न गठित उपसमितिको आज बसेको बैठकले नयाँ बन्ने संविधानको नाम ‘नेपालको संविधान’ राख्ने सहमति गरेको छ ।
उपसमितिका सभापति तथा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सो सहमति भएको नेकपा (एमाले)का अग्नि खरेलले जानकारी दिए ।
संविधानको पछाडि संविधान जारी भएको साल उल्लेख नगर्ने सहमति भएको पनि उनले बताए ।
संविधान जारी गर्नुअघि नै विस्तृत शान्ति सम्झौताबमोजिम शान्ति स्थापना गर्नुपर्ने भएकाले नयाँ संविधानमा माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्दा छुट्टै नाम दिनु आवश्यक नभएको बैठकले निष्कर्ष निकालेको छ ।
यसैगरी मौलिक अधिकारका विषयवस्तुलाई निर्देशक सिद्धान्तअन्तर्गत राखेर छलफल गर्नु उपयुक्त हुने विषयमा पनि बैठकले सहमति जनाएको छ ।
सो सहमतिले विवादित ३० वटा विषयमध्ये अन्य आठवटा विषयको विवाद पनि स्वतः अन्त गरेको छ ।
बैठकमा प्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेपाली जनता दलकी गायत्री साहलगायत अन्य आमन्त्रित सदस्यको सहभागिता थियो । उपसमितिको अर्को बैठक भोलि बिहान ८ बजे बस्नेछ ।