इटहरी, ३ जेठ । कहिले लिम्बुवान कार्यकर्ता त कहिले एकीकृत नेकपा (माओवादी) निकट आप्रवासी मजदुरको हकहितमा काम गर्ने समूह भनेर आफूहरुलाई चिनाउँदै आएकाहरुको समूहले आह्वान गरेको मेचीकोसी बन्दले जनजीवन प्रभावित बन्न पुगेको छ ।
हल्लाकै भरमा बन्द भएपछि सर्वसाधारण मानिसलाई आवागमनमा कठिनाइ भएको छ । सवारीसाधन नचल्दा सर्वसाधारण यात्रुलाई हिँडडुलमा समेत समस्या सिर्जना भएको छ
तर माओवादीका कार्यकर्ताले भने यो नाम आफ्नो पार्टीभित्र कहिल्यै नसुनेको नाम भएको बताएका छन् ।
पक्राउ पर्ने हरुमा नेपाल जनप्रगतिशील मञ्चमा आबद्ध भनिने सोही मञ्चका केन्द्रीय उपाध्यक्ष नमराज पाण्डे, महासचिव हरिशरण डोटेल, केन्द्रीय सदस्य बताउने प्रदीपकुमार घिमिरे र मेची कोसी संयोजक बताउने सुमनसिंह पौडेल रहेको दमक प्रहरीले बताएको छ ।
बिनाकारण बन्दको आह्वान गरेर पर्चा छरिरहेका टोलीलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा एकीकृत (माओवादी) निकट आप्रवासी मजदुरको हितमा काम गर्ने बताउनेहरु रहेका छन् ।
बन्दका कारण लामो दूरीका सवारीसाधनलाई गन्तव्यमा पुग्न कठिनाइ परेको छ । सुनसरीको धरान, इटहरी र झापाको दमक नगर क्षेत्रमा छरिएका बन्द आह्वानको पर्चाकै आधारमा पूर्वी नेपालमा यातायात पूर्णत बन्द हुन पुगेको छ ।