काठमाडौं ३१ वैशाख
एकीकृत नेकपा (माओवादी)ले हाल शिविरमा रहेका माओवादी लडाकूको छुट्टै संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँबजारमा आज बसेको पदाधिकारी बैठकले यस्तो प्रस्ताव अघि सार्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै सुरक्षा अङ्गलाई मिलाएर मिश्रित सुरक्षा संयन्त्र बनाउनुभन्दा आप्नो पार्टीले यसअघि नै सार्वजनिक गरेको नीतिअनुसार जनसेनाको छुट्टै संयन्त्र बनाउनु वैज्ञानिक हुने भएकाले सोही प्रस्ताव पुनः अघि सारिएको जानकारी दिए ।
बैठकले सेना समायोजनको ढाँचासम्बन्धमा अन्य राजनीतिक दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा सेना समायोजन विशेष समितिको कामकारबाहीको समीक्षासमेत गरिएको बुझिएको छ ।