काठमाडौं, वैशाख २३
नवनियुक्त प्रधान न्यायाधीश खिलराज रेग्मीले न्यायपालिकामा रहेका विद्यमान विकृति विसंगति, अनियमितता, भ्रष्टाचार र फैसला कार्यान्वयनलाई आफ्नो कार्यकालमा विशेष प्राथमिकता दिने बताएका छन्।
शुक्रबार राष्ट्रपति रामबरण यादबबाट शपथ लिएपछि सञ्चारकर्मीसँग बोल्दै रेग्मीले यस्तो प्रतिक्रिया दिएका हुन्।
जनगुनासो तीब्र भएको बेला आफूले कुनै नयाँ विषय उठाएरभन्दा पनि भइरहेका ढिलासुस्तीका कारण केलाएर त्यसैलाई छिटो छरितो बनाउन र भएका फैसलालाई कार्यान्वयन गरेर जनतालाई न्याय अनुभूत गराउन आफू प्रतिबद्ध हुने बताए।
ुकुनै नयाँ ढंगले काम थाल्नेभन्दा पनि मुद्दा सुनुवाई ढिलाई हुनुका कारण केलाएर त्यसलाई छिटो छरितो बनाउन सक्रिय भएर लाग्छु,उनले भने, फैसला भए पनि कार्यान्वयन नभएका थुप्रै मुद्दा छन् । त्यसलाई कार्यान्वयन गराउन प्रयत्नशील भएर लाग्छु।
पछिल्लो समय निवर्तमान प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले बढाएको अदालतप्रतिको जनआस्था जोगाउन पनि आफू प्रतिबद्ध भएको उनले बताए । भ्रष्टाचारको मुद्दाका ढिला सुस्ती हटाउन र संवैधानिक विषयका मुद्दा यथाशिघ्र टुंगो लगाउन जोड दिने समेत उनले जानकारी दिए।