काठमाडौं, वैशाख २२
नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवले माओवादीलाई अब कुटनीतिक मर्यादा विपरीत गतिविधि गर्न नदिने वताएका छन् । भारतीय राजदुत राकेस सुदमाथि माओवादी कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै उनले विगतमा भएका कुटनीतिक मर्यादा विपरीतका क्रियाकलापलाई दोहोरिन नदिने बताए। बिहीबार रिपोर्टर्स क्लवमा मन्त्री यादवले भने, यसतर्फ म सचेत छु । अध्यक्ष यादवले भारतसँगको सम्बन्ध अरुभन्दा विशेष सम्बन्ध भएकोले त्यसलाई सजगता पूर्वक थप सुदृढ बनाउन पनि कुटनीतिक मर्यादा विपरीतका गतिविधि रोक्नुपर्ने बताए । नेपाल(भारतको सम्बन्ध अन्य मुलुकको भन्दा बहुआयामिक भएकोले त्यसलाई एकदमै सजगता पूर्वक सुदृढ बनाउनु पर्ने उनले बताए । सांस्कृतिक, आर्थिक, धार्मिक र जनता जनताबीचको सम्बन्ध भएकोले त्यसलाई अझै सुदृढ बनाएर मुलुकको समृद्धिको लागि उपयोग गर्नुपर्छ, उनले भने । उपप्रधान एवम् परराष्ट्रमन्त्री यादवले नेपालको भूमि छिमेकी मुलुक विरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न नदिने प्रतिबद्धता ब्यक्त गरे ।
