काठमाडौँ, २१ वैशाख
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)को शान्ति र संविधानप्रति प्रतिबद्ध नभएका कारण शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाले गति नलिएको बताएका छन् ।
उनले भने –“माओवादीमा कुरा गर्ने तर व्यवहारमा त्यसलाई पूरा नगर्ने दोहोरो प्रवृत्ति रहिरहने हो भने ३० वर्षमा पनि राज्यका यही दुई महत्वपूर्ण विषय पूरा हुँदैन ।”
संविधान निर्माणका लागि नागरिक अभियानद्वारा संविधान निर्माणको समय सीमा र शान्ति प्रक्रिया विषयक आयोजित छलफललाई सम्बोधन गर्दै नेता नेपालले संविधान निर्माण सभासद्का कारण ढिलाई नभई माओवादीको द्वैध चरित्रका कारण ढिलाई भइराखेको हो भने ।
माओवादीको केन्द्रीय समितिद्वारा शान्ति र संविधान नै अहिलेको अर्जुन दृष्टि भएको ठहर नक्कली र देखावटी मात्र भएको चर्चा वताए ।
नेपाली काँग्रेसका नेता डा रामशरण महतले माओवादीले आफ्ना लडाकू समायोजन र संविधान निर्माणमा स्पष्ट धारणा सार्वजानिक गर्नुपर्ने विचार व्यक्त गरे ।
उनले भने –“माओवादीले हतियार मोह र लोकतान्त्रिक संविधान मान्छु नभनेसम्म संविधान निर्माणले गति लिन सक्दैन ।”
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता जीतेन्द्र देवले ठूला तीनदलका अहम्का कारण शान्ति र संविधानले गति लिन नसकेको बताए ।
नेपाल सद्भावना पार्टी (आनन्ददेवी)का अध्यक्ष सरिता गिरीले शान्ति र संविधानका लागि राजनीतिक सहमति आवश्यक भएकोमा जोड दिइन् ।