काठमाडौँ, २१ वैशाख
बजारमा करिब दुई सातदेखि देखिएको पेट्रोलियम पदार्थको अभाव शुक्रबारदेखि सामान्य हुने भएको छ ।
नेपाल आयल निगमले आजदेखि रक्सौलबाट पेट्रोलियम पदार्थको आयत वृद्धि गरेकाले शुक्रबारदेखि वितरण सामान्य हुने भएको छ ।
निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले पेट्रोल, डिजेल, मट्टितेललगायतका इन्धन २४ हजार किलोलिटर आज रक्सौलबाट आयात गरिन लागेकाले शुक्रबारदेखि उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति बजारको माग अनुरुप हुने भएकाले स्थिति सामान्य हुँदै जाने बताए ।
नेपाल आयल निगमले भारतीय आयल निगमलाई पुरानो बक्यौदा करिब रु दुई अर्ब बुझाउन बाँकी रहेपछि पेट्रोलियम पदार्थको आपूर्तिमा करिब ४० प्रतिशत कटौति गरेपछि मुलुकमा पेट्रोलियम पदार्थको अभाव चुलिँदै गएको थियो ।
पछिल्लो समय सरकारले रु एक अर्ब ५० करोड नेपाल आयल निगमलाई उपलब्ध गराएपछि दुई वटा निगमबीचमा समझदारी कायम गरी पेट्रोलियम पदार्थको आयत वृद्धि गरिन लागेको हो । उपत्यकामा दैनिक दुई लाख लिटर पेट्रोल, तीन लाख लिटर डिजेल खपत हुने गर्दछ ।