-अहिल्या कुँवर
सालौं साल पछि गाउँ फर्किदा
चौबाटो
चौडा बाटो भएछ
मुल बाटो बदलिएर मेन रोड भएछ
गाउँ बदलिएर सहर
सहर मात्र होइन
छन्द न बन्दको नमुना रहर भएछ ।
भारी मन लिई दुई चार गरूंगा पाइला के सारेको थिएँ
पाँच तल्ला माथिबाट काकी चिच्याइन
भेजिटेवललाई पानी दिन लाको ।
सम्झें हामी सानो छँदा त
खेत खलियान बारिका कान्लामा
तरकारी बारी हुन्थ्यो
अहिले त पाँच तल्ला माथि भेज फलेछ
गहरा कान्ला बेचेर बँगला ठडिएछ ।
झिंझा झुझि झोसि भुसेचुलो दनकाउने
सानिमा नि पक्की घरमा बस्ने भईछन
भन्दै थिन
सानोबाको काठको फ्याक्ट्री सार्है फापेछ
सिमा पारी छिमेकीलाई
रेलको लिक बनाउन यहि काठले भाकोछ ।
जुगांमा ताऊ लगाउँदै माइलाबा बोले
पैसा कमाउन तँ त सात समुन्द्र पारी पुगिस
पैसो त त्यहि खोला मुनि पो रहेछ ।
गगन चुम्बी भवन उनको त्यसै ठडियन
बालूवा ढु़ँगा रोडा गिट्टी माटो सबै खनी
माथि माथि मात्र केवल पानी बगि जाने
गहरा खेत सबै प्लटिगं
जंगल नासिएर बस्ती बसेछ
दाँत झिकिएको जस्तो
खाल्टै खाल्टो खोला पनि सार्है् कूरुप देखिएछ ।
खोल्नै नसकि आँखाहरू
म आफ्नो घरको बाटो लागें
जान्ने सुन्ने मेरा बाले
काकीलाई ठुलै गुन लगाएछन्
सुन फल्ने माटो बेची तासको दरबार ठडाएछन
जंगल नमासनु
रुख़ नकाटनु
मात्र काठ बेचनु भनि सानोबालाई सिफ़ारिश दिलाएछन्
खोला नाला देशको सम्पती हो
छुदै नछुनु
तर मुनि दाया बायाँ जे छ सबै तिम्रो भनि
माईलाबालाई थमाएछन्
सबैको सेवा गरी मेवाबाट दरबार ठडाएछन् ।
सोचिकन यि सबै
फिटिकै निद्रा आएन नयनमा
उजाड जंगल जस्तै ऊजाड थियो मन
अचानक गर्जियो मेघ फूटन थाल्यो बाँध
जलमग्न चारैतिर थिएन एक पनि साँध
गर्र्यौ दुइदिनको रमझम बेचि खोलानाला
सक्छौ भने थेग पहिरो थाप आफ्नै कॉध ।