मगर संघ कास्कीद्वारा १ सय १६ जना एसईई उत्तीर्ण मगर विद्यार्थी सम्मानित

Read Time:3 Minute, 31 Second

रूद्र बहादुर श्रीस मगर

पोखरा, २६ असार

नेपाल मगर संघ कास्कीले कास्की जिल्लाका विभिन्न विद्यालयबाट २०७४ सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई) उत्तीर्ण १ सय १६ जना मगर विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

मंगलबार आयोजित सम्मान कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नर देवी पुनमगरले मगर विद्यार्थीहरूलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै मन्त्री पुनमगरले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । शिक्षित भए मात्र राज्यका हरेक निकायमा नेतृत्व गर्न सकिने भन्दै मन्त्री पुनमगरले विदेश पलायन हुनका लागि नभइ स्वदेशमै केही गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार प्रा.डा. केशर जंग बरालमगर, पूर्व केन्द्रीय सदस्य झलक बहादुर रानामगर, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष नुनु रानामगर, नेपाल मगर विद्यार्थी संघ कास्कीका सचिव प्रेम बुढामगर लगायतले मगर समुदायलाई शिक्षित बनाउन शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

यस वर्ष कास्कीका मगर विद्यार्थीहरूमध्ये एसईईमा नेपाल मगर संघ चाउथे कदममार्ग एकाइ समितिका नरेन्द्र रानामगर ३.८५ जीपीए ल्याइ सर्वोत्कृष्ट हुन सफल भए । सर्वोत्कृष्ट भएका उनलाई धनु स्मृति छात्रवृत्ति कोषद्वारा संस्थापक मे प्रेम बहादुर थापामगरबाट १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।

त्यसैगरी नेपाल मगर संघ कास्कीको अक्षयकोषद्वारा छिनेडाँडा एकाइ समितिका विजय आलेमगर (छात्र) जीपीए ३.८० र चाउथे एकाइ समितिकी धनमाया रानामगर (छात्रा) जीपीए ३.७० लाई जनही ७ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा ए प्लस ग्रेड ल्याउने १० जनासहित १ सय १६ जना मगर विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाल मगर संघ कास्कीका पूर्व उपाध्यक्ष इन्द्र बहादुर गर्बुजामगरद्वारा एसईईमा सम्मिलित अपाङता भएका विद्यार्थी विशाल गर्बुजामगरलाई ५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको थियो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव याम बहादुर थापामगर र स्वागत उपाध्यक्ष मे प्रेम बहादुर थापामगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %