झापा १८ वैशाख
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अविश्वास र आँखामा छारो हाल्ने प्रवृत्ति छाडेर सच्चिन एकीकृत नेकपा (माओवादी)लाई सुझाव दिएकाछन् ।
नेपाल प्रेस युनियन झापाले आज झापाको बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीले शान्ति र संविधानलाई प्राथमिकतामा राख्नु राम्रो कुरा भएको बताए ।
‘त्यो राम्रो कुरा हो,’ उनले भने– ‘यसलाई विश्वास गरिहाल्ने ठाउँ भने छैन, त्यसको व्यवहारिक कार्यक्रम पर्खनु उपयुक्त हुन्छ ।’ काँग्रेसले कुनै पनि किसिमको तानाशाही र सर्वसत्तावाद नस्वीकार्ने बताउँदै सभापति कोइरालाले आजको युगमा जनसंविधानको कुरा व्यर्थ हुने उल्लेख गरे ।
सभापति कोइरालाले माओवादी इमान्दार भए एक सातामा शान्ति र संविधान निर्माणमा धेरै प्रगति हुने दोहो¥याउँदै माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्ने तथा वाइसिएलको सैनिक संरचना भङ्ग गर्ने विषयमा विगतमा गरिएका सम्झौता पूरा गर्नु पर्ने वताए ।