काठमाडौँ, १७ वैशाख
एकीकृत नेकपा (माओवादी)को केन्द्रीय पदाधिकारीको आज बिहान बसेको बैठकले शान्तिप्रक्रिया र संविधान निर्माणका लागि सबै राजनीतिक दलसँग उच्चस्तरीय वार्ता गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँबजारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिन आफ्नो पार्टीका तर्पmबाट मन्त्री चयन गर्ने र बजेट पारित गराउन सहमतिका लागि पहल गर्ने बारेमा पनि छलफल भएको छ ।
माओवादी ठूलो दल भएको हैसियतले भोलिदेखि नै शान्ति र संविधानका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), मधेसवादीलगायत सबै दलसँग वार्ता गर्ने निर्णय भएको बैठकपछि पार्टी उपाध्यक्ष डा बाबुराम भट्टराईले वताए ।
उनले शान्ति र संविधानलाई बिथोल्ने प्रयास भइरहकाले पार्टीले यसको पक्षमा व्यापक जनपरिचालन र जनदबाब कार्यक्रम प्रारम्भ गर्ने उल्लेख गरे ।
बैठकले पार्टी केन्द्रीय समितिले शान्ति र संविधानको पक्षमा पारित गरेको प्रतिवेदनलाई राजनीतिक कार्यदिशाको रुपमा तयार पार्न अध्यक्ष दाहाललाई जिम्मा दिएको बताइएको छ ।
सरकारमा पठाउने मन्त्रीहरुका बारेमा आगामी सोमबार बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने उपाध्यक्ष डा भट्टराईले बताए ।