नेपाल छन्त्याल संघ कास्कीको नवनिर्मित भवनको उद्घाटन

Read Time:5 Minute, 33 Second

खानी विज्ञ छन्त्याल समुदायले राज्यलाई सघाउनुपर्छ – मन्त्री पुन

रूद्र श्रीसमगर

पोखरा, १५ वैशाख

प्रदेश नं. ४ की सामाजिक विकास मन्त्री नर देवी पुनले परम्परागत रुपमा खानी खन्ने सीप भएका छन्त्याल समुदायले राज्यलाई सघाउनु पर्ने बताएका छन ।

नेपाल छन्त्याल संघ कास्कीको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै मन्त्री पुनले नेपालको अल्पसंख्यक आदिवासी जनजाति समुदाय भए पनि नेपाल राज्यको निर्माणमा छन्त्याल समुदायको अतुलनीय योगदान रहेको चर्चा गरेका थिए । ‘छन्त्याल समुदाय खानी खन्ने ज्ञान र सीप भएको समुदाय हो’, मन्त्री पुनले भने- ‘खानी उत्खननका लागि छन्त्याल समुदायको ज्ञान र सीप राज्यका लागि पनि उपयोगी हुनेछ, जसका लागि छन्त्याल समुदायले राज्यलाई सघाउन आग्रह गर्दछु ।’

छन्त्याल समुदायको भाषा, धर्म र संस्कृति लोपोन्मुख अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पुनले नेपालमा बोलिने भाषा, मानिने सबै धर्म र संस्कृति जोगाउनु सिंगो राज्यको कर्तव्य भएको उल्लेख गरे । ‘छन्त्याल समुदायको मुख्य थलो पनि प्रदेश नं. ४ हो’, मन्त्री पुनले भने, ‘प्रदेश नं. ४ लाई समृद्ध र विकसित प्रदेश बनाउन छन्त्याल समुदायको सांस्कृतिक सम्पदा, ज्ञान र सीप एउटा महत्वपूर्ण आधार बन्न सक्छ ।’

एक अर्को प्रसंगमा नेपालको शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखान बनेको भन्दै मन्त्री पुनले अब प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिइने बताए । ‘अब प्रदेश नं. ४ मा एउटा प्रदेशस्तरीय प्राविधिक महाविद्यालय खोल्नका लागि हामीले पहल गरेका छौं’, मन्त्री पुनले भने, ‘विद्यार्थीको अभिरुचि र क्षमता अनुसारको शिक्षा नदिएसम्म शिक्षा क्षेत्रले फड्को मार्न सक्दैन ।’

भुजेल समाज सेवा समितिका केन्द्रीय महासचिव पान बहादुर घर्तीले अल्पसंख्यक आदिवासी जनजातिहरूलाई राज्यले सबैभन्दा विभेदमा पारेको भन्दै आफ्नो हक, अधिकार सुनिश्चित गर्न दबाबमूलक आन्दोलन जारी राख्नुपर्ने बताए । प्रदेशको नामाकरण आदिवासी जनजातिको ऐतिहासिक पहिचानका आधारमा गरिनु पर्नेमा जोड दिँदै घर्तीले पहिचान सहितको नामाकरणका लागि प्रदेशसभालाई आदिवासी जनजातिले एकीकृत दबाब दिनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगरले आदिवासी जनजातिका सवालहरूले मूलधारका सञ्चारमाध्यममा अझै पनि स्थान पाउन नसकेको जनाउँदै त्यसका लागि स्वयं आदिवासी जनजाति समुदाय समेत सचेत भएर सञ्चारमाध्यमको उपयोग गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल छन्त्याल संघ युकेका निवर्तमान अध्यक्ष तुल प्रसाद भलञ्जा छन्त्यालले छन्त्यालहरू जहाँ रहेपनि आफ्नो पहिचानका लागि निरन्तर जुट्नुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा धौलागिरी गाउँपालिका, म्याग्दीका अध्यक्ष झक बहादुर तथब्जा छन्त्याल, नेपाल छन्त्याल संघ रुपन्देहीका अध्यक्ष भरत घरब्जा छन्त्यालले पनि बोलेका थिए । कार्यक्रममा पाँच लाख रुपैयाँको संघका संस्थापक उपाध्यक्ष ‘स्व. सङ्ग बहादुर-सर्वजिता तथब्जा छन्त्याल स्मृति अक्षयकोष’ घोषणा गरिएको थियो । अक्षयकोषको रकम उहाँका छोरा भीम बहादुर तथब्जा छन्त्यालले हस्तान्तरण गरेका थिए ।

नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष भक्त बहादुर घरब्जा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बम बहादुर घरब्जा छन्त्यालले गरेका थिए भने संघका वरिष्ठ सदस्य क्या. नन्द बहादुर घरब्जा छन्त्यालले छन्त्याल भाषामा स्वागत गरेका थिए । भवन उद्घाटन अघि बौद्ध संस्कार अनुसार रुपन्देहीबाट आएका तीन जना बौद्ध मापा (गुरुमा)हरूद्वारा नवनिर्मित भवनको विधिवत् पूजा गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %