काठमाडौ, १६ वैशाख
सरकारले वर्तमान लोडसेडिङ केही हटाउन केही दिन भित्र विशेष कार्ययोजना सार्वजनिक गर्ने भएको छ । विद्युत चुहावट नियन्त्रण र विद्युत उत्पादन र प्रसारण बीचमा समन्वय गरी लोडसेडिङको समय केही हटाइने ऊर्जामन्त्री गोकर्ण विष्टले जानकारी दिए ।
रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री विष्टले ऊर्जा सङ्कट घोषणालाई पूर्ण कार्यान्वयन गर्न ऊर्जा सङ्कट विधेयक संसदमा प्रस्तुत गर्ने तयारी भइराखेको बताए ।
बहुचर्चित एवम् बहुप्रतिक्षित माथिल्लो तामाकोसी यही महिनामा शिलान्यास गरिने वताउदै उनले भने “ऊर्जामा लगानी मैत्री बनाउन पनि सरकार लागि परेको छ । ”
निर्माणाधीन विद्युत आयोजनाहरुलाई समयमै काम सिध्याउन निर्देशन दिइसकिएको, विसं २०७२ सम्ममा लोडसेडिङ अन्त्य गर्न अल्पकालीन एवम् दीर्घकालीन योजना ल्याउन लागिएको उनले बताए ।