ब्रिटिस लाहुरेको सपना बोकेर झिसमिस देखि डोको बोकेर दौडने युवाहरुलाई यो कुरा थाहा छ ?

Read Time:3 Minute, 37 Second

तेज राई-

हुनत, भनिन्छ, ‘सपना नदेख्नु आफुले आफैलाई गरिने ठुलो अपराध हो।’अमेरिकी लेखक तथा कवि ह्यारी केम्प (1983-960) ले भनेका थिए, ‘त्यो गरीब होइन जोसँग एकै पैसा छैन, तर जोसँग सपना छैन, त्यो महा-गरीब हो।”सपना (Dream) को बारेमा धेरैले थुप्रै लेखेका छन् र बेस्ट सेलर पनि बनाएका छन्। तर आज “युके लाहुरे”को ठुलो “सपना” पालेर एक्का-बिहानै तालिम केन्द्र पुगेर दौडिन निस्किएका भाइहरुको यो लाम देखेर ‘नोस्टाल्जिक’ भएको छु म। सोच्दैछु, ‘अरुलाई सपना देखाएर टुटाउनु चाँही झन ठूलो अपराध हो कि ?’

कोही आँफैँ र कोही परिवार वा आफन्त वा साथीभाइ वा तालिम केन्द्रको विज्ञापनको बहकाउमा लागेर “ब्रिटिश गुर्खा आर्मी” बन्ने सपना पालेका यी अल्लारे उमेरका भाइहरु मध्ये मुस्किलले नेपालभरबाट २-३ सय जना लाहुरे बन्नेछन्, बाँकी निकम्मा ठहरिनेछन्, आत्मबल गिराउने छन्, डिप्रेसनको सिकार बन्नेछन र शायद् लागू पदार्थ सेवनको लतमा फँस्नेछन्।यो संक्रमण पहिले राई-लिम्बु र गुरुङ-मगर समुदायमा सीमित थियो। अहिले ‘जातीय भेदभाव गर्न नपाइने’ भएकोले सबै जातिमा सरेको छ।

नारायणगढमा देखिएको यस्तो लस्कर धरान, दमक, पोखरा, बुटवल र काठमाडौंमा अझै सयौं गुणा ठूलो छ। अर्थात् सूर्योदयसँगै हजारौँ (शायद लाख नै नाघ्ला) युवाहरु दौडिरहेका हुन्छन् र अन्तिममा ०.१ प्रतिशतको सपना पूरा होला तर ९९.९ प्रतिशत युवा फेल हुन्छन्। देशका कर्णधार युवाहरुलाई सपना देखाएर दौडाउने तालिम केन्द्रहरुको कुम्ल्याउने सपना चाँही पूरा हुन्छ।अधिकांस युवाको मनोविज्ञानसँगै सपना र भविष्य चकनाचुर हुनेछ, सँगै देशको भविश्य पनि। फेल बनाइएका युवाहरुको पढाइ चौपट हुन्छ र अन्तिममा खाडी मुलुक र मलेसियातिर सस्तो लेबरको लागि पराजित मानसिकता बोकेर बाटो लाग्नेछन्। यसरी कहिलेसम्म चल्ला?

लाहुरे बनेर सबैभन्दा धनी हुन सकिने भए आज नेपालको सबैभन्दा धनी राई-लिम्बु या गुरुङ-मगर हुन्थे होलान्।लाहुरे बनेर सबैभन्दा सुखी हुन सकिने भए आज सबैभन्दा सुखी पनि उनीहरु नै हुने थिए होलान्।VC पाएर सबैभन्दा शक्तिशाली हुने भए आज देशको राष्ट्रपति वा प्रधानमन्त्री उनीहरु नै हुने थिए होलान्।तर किन त्यस्तो छैन ?न उनीहरुसँग सात पुस्ता पुग्ने सम्पत्ति छ, न शारीरिक वा आत्मिक सुख छ, न राजनैतिक पावर छ। किन राई-लिम्बु, गुरुङ-मगरहरु नै पिछडा वर्गमा छन्? कि मैले कुरो बुझिनँ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %