भर्ती प्रक्रिया दलालको दलदलमा

Read Time:4 Minute, 54 Second

मनोज घर्ती
Image may contain: 4 people, people sitting

पोखरा, भदौ २६ – ब्रिटिस आर्मी र सिंगापुर पुलिस भर्ती हुने प्रक्रिया दलालको दलदलमा पर्न थालेको छ । अन्य कारोबारमा जस्तै भर्ती प्रक्रियामा पनि दलालहरूको सहभागिता हुन थालेपछि योग्य व्यक्तिभन्दा कम योग्यहरु भर्ती हुन थालेका छन् ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती गर्दा गरिएको अन्यायबारे जानकारि दिन पिपल्स् एक्सन पार्टी र गोर्खा जस्टिस् पोखराद्वारा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो रहस्य खुलेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पिपल्स् एक्सन पार्टीका अध्यक्ष बलराम थापामगरले परीक्षाहरुमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने युवालाई भर्ती नलिई आफैले इच्छाएका व्यक्तिहरुलाई अनुचित लाभलाई प्राथमिकता दिएर भर्ती लिइने गरेको दाबी गरे । ‘भर्ती छनौटमा पुल अप १८, सिटअप १ सय १२ गरेको र आठ सय मिटर दौड २ मिनेट ११ सेकेन्डमा पार गर्ने योग्य व्यक्तिको नाम एआरो सेलेक्सनमा निस्केन’ अध्यक्ष थापामगरले भने,‘यहाँ योग्यहरुलाई फालेर कम अयोग्यलाई पैसाको चलखेल गरेर भर्ती गराउने गरेको विश्वस्त सुत्रबाट थाह पाइयो ।’

अध्यक्ष थापामगरले बाहिर खोलिएको भर्ती तालिम केन्द्रबाट प्रदान गरिएको पोशाक (युनिफर्म) लगाई जाँदा कोडको संकेत भएकाले तिनैलाई भर्तीमा प्राथमिकता दिने गरेको दाबी गरे । ‘त्यस्तो पोशाकलाई पूरै रोकावट गर्न हामी अपील गर्छौ’ अध्यक्ष थापामगरले भने,‘भर्ती छनौट गर्दा भन्ने गरिएको फ्रि, फेयर र ट्रान्सपसेन्स हुँदोरहेनछ यहाँ ।’

गोर्खा जस्टिस्का अध्यक्ष नरेश गुरुङले भर्ती छनौट गर्दा कम्प्युटरबाट देखाइने डिजिटल स्कोर बोर्डको व्यवस्था गरिएमा भर्ती छनौट निश्पक्ष हुने बताए । ‘म्यानुअल सिस्टमबाट गरिएको नम्बर विश्वासयोग्य छैन । यसो गर्दा नम्बर थपघट गर्न पनि सकिन्छ’ अध्यक्ष गुरुङले भने,‘भर्ती गर्ने समयमा चाहिने रिक्रुटिङ टिम यहाँ अवकाशप्राप्त आर्मीलाई नराखी अहिले सर्भिसमा कार्यरत व्यक्तिलाई बेलायतबाट ल्याउनुपर्छ । प्रश्न सेट समेत म्यानेज गरी गोपनियता प्रयोग गरेमा राम्रो हुनेछ ।’

पत्रकार सम्मेलनमा सहभागी इन्द्रा थापाले आफ्नो छोरोले सबैमा उत्कृष्ट नम्बर ल्याएर भिडे पनि नजिता प्रकाशन हुनु एक साता अघि नै भर्ती नभएको नतिजा सुनाइएकोमा दुःख व्यक्त गरिन् । सेप्टेम्बर ९ भदौ २४ गते नजिता आउट हुनुपर्ने हो तर, मेरो छोरो भर्ती नभएकोबारे सेप्टेम्बर २ भदौ १७ गते जानकारी बाहिर आयो’ इन्द्राले भनिन्,‘यहाँ पैसाको चलखेल नहुने भए गोप्य सूचना कसरी बाहिर आयो । नजिता बाहिर नआउँदै तिम्रो छोरो भर्ती भएन भनेपछि पैसाको बार्गेनिङ गर्नलाई यस्तो गरिएको हो । यहाँ भर्ती गराइदिएबापत ३५ देखी ४५ लाखसम्म लिने गरेका रहेछन् ।’

पत्रकार सम्मेलनमा उपस्थित अर्का व्यक्ति शिब बानियाँले भर्ती गराइदिन्छु भन्ने दलालहरु रातारात नबधनाढ्य हुनले भर्ती प्रक्रियामा ठूलो आर्थिक चलखेल हुने गरेको पुष्टि हुने दाबी गरे । ‘३५ देखी ४५ लाखसम्म रकम असुलेर भर्ती गराइदिने गरेको कुरा धेरैलाई थाह छ । भर्ती छनौटमा सहभागी एआरो साआरोहरुको सम्पति सुद्धिकरण गर्नुपर्छ । कति पैसाको चलखेल हुन्छ थाह भइहाल्छ’ बानियाँले भने, उनीहरुको सम्पत्ति सुद्धिकरणका लागि मैले अख्तियार, पुलिस, अनुसन्धान, सिआइबीलाई गुहार्न सुरु गरिसकेको छु ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %