सात दिनमै शान्ति र संविधानको टुङ्गो लगाउन सकिन्छ : प्रचण्ड

Read Time:3 Minute, 27 Second

ललितपुर, ८ वैशाख
संविधान जारी गर्नुपर्ने समय सीमा जम्मा ३५ दिन वाँकी रहदा  एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानमा देखिएका सबै समस्या सात दिन भित्रमै सहमतिमा पुगी टुङ्ग्याउन सकिने बताएकाछन् ।

व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपालको सन्दर्भमा सङ्घीयता’ विषयक एक दिने विशिष्ट संवाद कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको शान्ति र परिवर्तनको चाहनालाई साकार पार्न चाँडै एउटा निष्कर्षमा पुगिने बताए  ।

अध्यक्ष दाहालले भने– ‘हामी शान्ति र परिवर्तनको संवेदनशील मोडमा छौँ, संविधान जारी गर्ने बाँकी ३५ दिन धेरै हो, सात दिनमा सहमतिमा पुगी सबै समस्याको टुङ्गो लगाउन सकिन्छ ।’
शान्ति र संविधानको बारेमा निर्णयमा पुग्नु आफ्नो पार्टीको दायित्व भएकोले अन्तिम निर्णय लिन अहिले पार्टीमा व्यापक छलफल भइरहेको उल्लेख गर्दै उनले जनताको परिवर्तनको चाहनालाई साकार तुल्याउन चाँडै निष्कर्षमा पुगिने बताए  ।

अध्यक्ष दाहालले सङ्घीयतासम्बन्धी राज्य पुनः संरचना समितिले प्रस्तुत गरेको १४ प्रदेशमा नेपाली आवश्यकतालाई हेरेर हेरफेर गरी थोरै प्रदेश पनि बनाउन सकिने बताउँदै यसका लागि प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्नेमा जोड दिए  ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले सङ्घीयतामा जाने निर्णय पहिला काँग्रेसले नै गरेको तर कस्तो सङ्घीयतामा जाने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताए ।

उनले मुलुकलाई सङ्घीयताको ढाँचामा लैजादा पश्चिमा राष्ट्रहरुको उदाहरणलाई ख्याल गरी संस्कृति र भोलिको आर्थिक विकासको पाटोलाई मध्यनजर गरी सङ्घीयता बनाइनुपर्ने विचार राखे  ।
जापानका प्रोफेसर सिन्जी आशानुमाले सङ्घीयतासम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपालीपन झल्कने भूगोल, इतिहास तथा भाषा संस्कृतिको आधारमा नेपाली मोडलको सङ्घीयता हुनुपर्ने सुझाव दिए   ।

व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रका अध्यक्ष किशोर नेपालले सङ्घीयताजस्तो जटिल विषयमा छलफल गर्नुपर्नेमा दलहरु तीन वर्षसम्म अनेकौ राजनीतिक खेलमा लागेको टिप्पणी गर्दै सङ्घीयताको साथै लोकतन्त्र र राष्ट्रियताप्रति दलहरु गम्भीर हुनुपर्नेमा जोड दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %