रूद्र श्रीसमगर
पोखरा, भदौ ४ – नेपाल मगर महिला संघ रामबजार एकाइ समिति, पोखराको आयोजनामा हरितालिका तीजका अवसरमा आयोजित दर खाने कार्यक्रममा विभिन्न प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेलहरू सम्पन्न भएका छन् ।
आइतबार भएको कार्यक्रममा आयोजित घैंटो फुटाउने प्रतियोगितामा सरिता विरहीले घैंटो फुटाउन सफल हुनुभयो । त्यस्तै, चम्चा दौडतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः मनमाया थापामगर, पूर्णा आलेमगर र आशमाया आलेमगर हुनुभयो भने म्यूजिकल चेयरतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः पूर्णा आलेमगर, खुबीसरा थापामगर र कुसुम रानामगर हुनुभयो । बिजेताहरूलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरस्वती रानामगर, नेपाल मगर संघ रामबजार एकाइ समितिका अध्यक्ष ढालबहादुर सारूमगर, नेपाल मगर युवा संघ रामबजार एकाइ समितिका अध्यक्ष राजु थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलगायतले चाडबाड मनाउँदा तडकभडक नगरी मौलिक किसिमले मनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल मगर महिला संघ रामबजारकी अध्यक्ष दानकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शान्ति रानामगर र उपाध्यक्ष लक्ष्मी थापामगरले स्वागत गर्नुभएको थियो ।
