काठमाडौँ, ७ वैशाख
प्रधानमन्त्री झलनाथ खनालले आगामी केही हप्ताभित्रमा शान्ति प्रक्रिया फड्को मार्ने र त्यसले मुलुकमा सकारात्मक वातावरण बनाउने बताएकाछन ।
नेपालको राष्ट्रिय सुरक्षा परिषद्को भावीस्वरूप, कार्यक्षेत्र र संरचना विषयक आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले शान्ति र संविधानको जिम्मेवारी पूरा गर्ने कर्तव्य र दायित्वप्रति आफू सचेत रहेको उल्लेख गरे ।
प्रधानमन्त्री खनालले शान्ति प्रक्रियालाई आगामी जेठ १४ गते अघि नै ठोस दिशा दिन संविधानसभामा उपस्थित सङ्ख्याको आधारमा राजनीतिक दलले जिम्मेवारीका साथ ठोस पहल गर्नुपर्नेमा जोड दिए ।
सुरक्षासम्बन्धी अवधारण अब केवल सुरक्षासँग मात्र सीमित नभएर राजनीतिक, आर्थिक र विकाससँग जोडिदै गएको बताउँदै उहाँले राष्ट्रिय सुरक्षा परिषद्लाई नयाँ नेपालको परिकल्पना सँगसँगै व्यवस्थित तुल्याउनु पर्छ भने ।
प्रधानमन्त्री खनालले बदलिँदो परिस्थितिअनुसार सुरक्षा क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न सुरक्षासम्बन्धी अवधारणालाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।
उनले मुलुकसामु सङ्क्रमणकालले धेरै ठूला सम्भावना र चुनौती लिएर उभिएको उल्लेख गर्दै यसलाई अत्यन्त कुसलताका साथ सम्पन्न गर्न राजनीतिक दलले खेल्ने भूमिका महत्त्वपूर्ण हुने बताए ।
रक्षा मन्त्री विष्णु पौडेलले मुलुक केन्द्रीकृत शासन प्रणालीबाट सङ्घीयतामा प्रवेश गर्न लागेको अहिलेको परिप्रेक्षमा सुरक्षासम्बन्धी अवधारणालाई समयानूकुल बनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नरहेको भन्दै राज्यले कस्तो खालको राष्ट्रिय सुरक्षा परिषद्को कल्पना गरेको हो त्यसबारे सुझाव लिन कार्यक्रम आयोजना गरेको बताए ।