काठमाडौं, ७ वैशाख
भारतका विदेशमन्त्री एसएम कृष्णाले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका छन । सरकारको निमन्त्रणामा नेपालको तीनदिने भ्रमणमा आज मध्याह्न यहाँ आइ पुगेका विदेशमन्त्री कृष्णाले विमानस्थलमा आगमन मन्तव्य दिँदै आफ्नो भ्रमणबाट द्विपक्षीय सम्बन्ध सुदृढीकरण एवम् विस्तारमा मद्दत पुग्ने आशा व्यक्त गरिन ।
‘भ्रमणले आपसी सहयोगका थप क्षेत्र पहिल्याउनेमा म विश्वस्त छु’, भारतीय विदेशमन्त्रीले भने । आर्थिक सहयोग सुदृढ पारेर नेपालको विकासमा योगदान गर्ने आफ्नो मुलुकको प्रयास रहेको उल्लेख गर्दै उनले वीरगन्जमा निर्माण हुने एकीकृत जाँचचौकी र तराई सडक परियोजनाबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार एवम् आर्थिक विकास सहज हुनेमा भारत आश्वस्त रहेको बताए ।
भारतीय सहयोगमा वीरगन्जमा एकीकृत जाँचचौकी र तराई सडक परियोजना निर्माण हुने भएको छ । उनले ती परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा आफूले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायत प्रमुख राजनीतिक दलका नेताहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी दिए ।