गोविन्द घर्ती

साउन ७ । एकात्मक राज्यसत्ताका कारण राज्यको मुलधारबाट आदिवासी/जनजातिलाई वन्चित गरेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालले बताउनु भएको छ ।
उहाले जारी संविधानमा आदिवासी जनजातिका मुद्दा समेट्न नसकेको बताउदै आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न स्थानीय तहले पहल गर्नुपर्नेमा जोड दिनु भयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाले उक्ता कुरा बताउनु भएको हो । अध्यक्ष छन्त्यालले राज्यको हरेक तहमा आदिवासी जनजातिहरुलाई आरक्षणको व्यवस्था हुनु पर्ने बताउदै अधिकार प्राप्त र पहिचान स्थापितको लागि सम्पूर्ण आदिवासी जनजातिहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले देवदहलाई पर्यटकीय नगरको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरी अगाडि बढाउने बताउनु भयो । नगरप्रमुख खत्रीले नदीजन्यबाट हुने जोखिमलाई न्यूनिकरण गर्न देवदह नगरपालिकाले विशेष योजना ल्याउने बताउदै नदी नियन्त्रण र व्यवस्थापनमा चुनौती रहेको बताउनु भयो । उहाले देवदह नगरपालिकाको समृद्ध विकासको लागि निर्वाचित जनप्रतिनिधिले मात्र केहीगर्न नसक्ने बताउदै त्यसको लागि सम्पूर्ण नागरिकले आ–आफनो ठाउबाट सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहका अध्यक्ष बमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका कोषाध्यक्ष प्रेमनारायण चौधरी, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–३, का वडा अध्यक्ष बैकुण्ठ बहादुर कुवर, नेपाल मगर संघ देवदहका अध्यक्ष लालबहादुर दर्लामी, महासंघका सल्लाहकार वीरबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कालुराम थापाको स्वागत र महासंघका सचिव थमबहादुर बुढाथोकीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
