रूद्र श्रीसमगर
पोखरा, साउन १ – स्वस्ति फिल्मस् प्रालिको ब्यानरमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘तले क्रोम चु सैं’ अर्थात् ‘किन रुन्छ यो मन’को शनिबार पोखरामा भीआईपी शो गरिएको छ ।
शोको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला तथा बालबालिका सेल प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङले चलचित्रले संस्कार, संस्कृतिको संरक्षण र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
‘संस्कार, संस्कृति हराउँदै जान थालेका छन्, यस्तो अवस्थामा चलचित्र नै गतिलो माध्यम हो, नयाँ पुस्तालाई सन्देश दिनका लागि’, प्रहरी निरीक्षक गुरुङले भन्नुभयो, ‘तले क्रोम चु सैंले आम दर्शकको मन जित्नेमा म विश्वस्त छु ।’ सामाजिक परिवेशलाई श्रव्यदृश्य मार्फत् बाहिर ल्याउन चलचित्र नै प्रभावकारी माध्यम भएको भन्दै प्रहरी निरीक्षक गुरुङले समाजका विकृतिलाई नियन्त्रण गर्न समेत चलचित्रले भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका सदस्य नौजड्ड गुरुङ, गुरुङ फिल्म एशोसिएन नेपाल (जिफान)का प्रमुख सल्लाहकार माओत्से गुरुङ, कार्यवाहक अध्यक्ष राजेश गुरुङ, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक सुवासकुमार गैरे, उत्प्रेरक वक्ता सन्तोष लामालगायतले ‘तले क्रोम चु सैं’को व्यवसायिक सफलताको कामना गरेका थिए ।
स्वस्ति फिल्मस् प्रालिका अध्यक्ष एवं सो चलचित्रका नायक विवेक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नृत्य निर्देशक लब्सन गुरुङ तथा चलचित्रका लेखक तथा निर्देशक जनक गुरुङले स्वागत गर्नुभएको थियो ।
चलचित्रमा गुरुङ भाषा संस्कृतिप्रति युवा पुस्ताले चासो देखाउनुपर्ने आवश्यकतालाई मुख्य विषयका रुपमा उठान गर्न खोजिएको छ ।
