गोविन्द घर्ती
साउन १ । २० बर्ष पछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधि अहिले बधाई तथा सम्मान ग्रहण कार्यमा व्यस्त रहेका छन् ।
स्थानीय तहको समस्यालाई समाधान गर्नको लागि जनप्रतिनिधिहरुलाई निर्वाचित गरेपनि समस्याको समाधान गर्नुभन्दा पनि निर्वाचित जनप्रतिनिधिहरुले बधाई तथा सम्मान तर्फ बढि समय खर्चिएको भन्दै स्थानीयवासीद्धारा आक्रोस व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरु विभिन्न संघसंस्थाहरुले गर्ने गरेको बधाई तथा सम्मान कार्यक्रममा व्यस्त बनेको देखिन्छ । यस कार्यले आमनागरिकको समस्यालाई भन्दा पनि आफुलाई सम्मान गर्ने संघसंस्था प्रति केन्द्रित भएको स्थानीयवासीहरुको भनाई रहेको छ । निर्वाचित भएपछि गाउ/टोल र नगरको समस्यालाई कसरी समाधान गर्ने सकिन्छ भन्ने मुद्दालाई ओझेलमा पार्दै निर्वाचित भएको वहानामा बधाई सम्मान खानमै समय व्यतित गर्ने गरेको आमनागरिकको गुनासो रहेको छ । नागरिकका आधारभूत आवश्यकता पुरा गर्नको लागि निर्वाचित जनप्रतिनिधिहरु केन्द्रित हुनु पर्नेमा त्यस्तो हुन सकेको देखिदैन ।
देवदह नगरपालिकामा रहेका समस्याहरु मध्ये स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, बाटो, पुलपुलेसालाई सहज बनाउन पहल गर्नुपर्ने भएपनि निर्वाचित जनप्रतिनिधिहरु भने बधाई तथा सम्मान खानमा नै व्यस्त रहेका छन् । आर्सनिक प्रभावित क्षेत्रको रुपमा परिचित देवदह नगरपालिकामा खानेपानीको ठूलो समस्या रहेको छ । विभिन्न स्थानमा खानेपानी आयोजना संचालन भईरहेपनि सुद्ध पिउनेपानीको पुहचबाट बहुसंख्यक आमनागरिकहरु बन्चित रहेको पाईन्छ । खानेपानी संस्थाले वितरण गरेका धारामा विगत लामो समय देखि पानीको आपूर्ति नभएको प्रति निर्वाचित प्रतिनिधिहरुले ध्यान पुर्याउन सकेका छैनन् । आमनागरिकको खानेपानी पाउने अधिकार प्राप्तीको लागि सहजीकरण गर्ने आट समेत निर्वाचित जनप्रतिनिधिहरुले गर्न नसकेको देवदहवासीको गुनासो रहेको छ ।
देवदह नगरपालिकामा भईरहेको अघोषित लोडसेडिङ्गलाई व्यवस्थापन गर्न निर्वाचित जनप्रतिनिधिले ठोस कदम चाल्न आवश्यक देखिन्छ तर त्यस तर्फ कुनै पहल गरेको पाईदैन । केही निर्वाचित जनप्रतिधिहरुले कार्यालय समयमा बधाई तथा सम्मान ग्रहण गर्न नजाने भनेर प्रतिवद्धता जाहेर गरेपनि कार्यान्वयन भएको पाईदैन । आफुहरुले प्रतिवद्धता जनाएको कार्यलाई समेत कार्यान्वयन गर्न नसक्ने जनप्रतिनिधिबाट आमनागरिकले कस्तो आश गर्ने ? जनप्रतिनिधिहरुलाई आफनो प्रभावमा पार्न स्थानीय तहमा रहेका विभिन्न संघसस्थाहरुले बधाई तथा सम्मान कार्यक्रम राख्ने गरेको स्थानीयवासीको भनाई रहेको छ ।
स्थानीय प्रतिनिधिहरुलाई नागरिकको काम गर्न प्रेरित गर्नुपर्ने संघसंस्थाहरुले जनप्रतिनिधिको समय बधाई तथा सम्मान कार्यक्रममा खर्च गर्न लगाएपछि आमनागरिकको समस्या समाधानमा वाधा पुग्ने गरेको देखिन्छ । स्थानीय स्तरमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मानमा समय खर्चि गरिदिने भन्दा पनि आमनागरिकको काम गर्ने तर्फ प्रेरणा दिनु पर्ने अहिलेको आवश्यकता रहेको छ । यस तर्फ सम्पूर्ण संघसंस्थाहरु सचेत र सजग भएर लाग्नु पर्ने देखिन्छ ।
