गोविन्द घर्ती
असार ३० । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नगरपालिका लागि पर्ने देवदह नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।
उहाले शिक्षाले मात्र समाज परिवर्तन र दीगो विकास गर्न सकिने भएकोले देवदह नगरपालिकाले शिक्षा क्षेत्रलाई बढि महत्व दिने बताउनु भयो । नगर प्रमुख खत्रीले सामुदायिक विद्यालय र नीजि विद्यालयलाई सम्मान दृष्टिकोणले हेर्ने भन्दै शिक्षाको पहुचमा नपुगेकाहरुलाई विशेष व्यवस्था गरेर भएपनि शिक्षाको पहुचमा पुर्याउन लागि पर्नेमा जोड दिनु भयो । नेपाल शिक्षक संघ देवदहद्धारा देवदह नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।
प्रमुख खत्रीले देवदह नगरलाई पर्यटकीय क्षेत्रको विकास गर्दै अगाडि बढ्ने बताउदै देवदहलाई पकेट कृषिको रुपमा विकास गर्दै जानेमा जोड दिनु भयो । उहाले भ्रष्टचार मुक्त नगरपालिका निर्माण गर्न निर्वाचित जनप्रतिनिधि मात्र नभई समाजमा क्रियाशिल विभिन्न संघसंस्थाले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह क्षेत्रमा रहेको अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न नगरपालिकाको पहिलो काम रहेको बताउनु भयो । उहाले समृद्ध नगरपालिका निर्माण लागि सवै संग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । उपप्रमुख गुरुङ्गले ५ बर्ष भित्र देवदह नगरपालिकालाई समृद्ध नगर बनाउन निर्वाचित जनप्रतिनिधि लागिपर्ने बताउदै त्यसको लागि सवैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
नेपाल शिक्षक संघ देवदह नगर समितिका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक यूनियनका पुर्व अध्यक्ष झविन्द्रप्रसाद पाण्डे, देवदह–१०, का वडा अध्यक्ष यकबहादुर सुनार, वडा नं ५ का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, नेपाल शिक्षक संघका जिल्ला सहसचिव यमलाल शर्मा, देवदह माध्यमिक विद्यालयका लिलाधर पाण्डे, प्रगति माध्यमिक विद्यालयका गुणनिधि चिल्वाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
नेपाल शिक्षक संघका उपाध्यक्ष मनकला पाण्डेको स्वागत र सचिव उमाकान्त अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
