काठमाडौँ, २ वैशाख
लामो समयदेखि विवादमा रहँदैआएको भुटानी फिर्ती समस्यालाई वार्ताका माध्यमबाट समाधान गरिने सहमत भएको छ । प्रधानमन्त्री झलनाथ खनाल र नेपालको तीनदिने भ्रमणमा रहनुभएका भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो ।
भेटपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै भुटानी प्रधानमन्त्री थिन्लेले प्रधानमन्त्री खनालसँग द्विपक्षीय सम्बन्ध र आसन्न सार्क शिखर सम्मेलनका बारेमा छलफल भएको जानकारी दिए ।
उनले नेपाल र भुटानबीच रहेको पाँच दशक लामो सम्बन्धलाई अझै प्रगाढ बनाउन र भुटानी शरणार्थीको फिर्ती समस्यालाई सम्बोधन गर्नका लागि निकट भविष्यमै वार्ता गरी समाधान निकाल्ने सहमति भएको पनि बताए ।
प्रधानमन्त्रीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार मिलन तुलाधरले भुटानी शरणार्थीलाई कसरी फिर्ता गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र सो सम्बन्धमा पहल गर्न द्विपक्षीय वार्तालाई निरन्तरता दिनेमा उहाँहरूबीच सहमति भएको जानकारी दिए ।
उनले दुवै देश भूपरिवेष्ठित र पहाडी मुलुक भएको र यी मुलुकबीचको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा रहेको समानतालाई कायमै राखेर विकास गर्न अनुभव आदान–प्रदान गर्ने विषयमा पनि छलफल भएको बताए ।
सो अवसरमा उनीहरुबीच हवाई सम्बन्ध र व्यापार सम्बन्धका बारेमा पनि छलफल भएको र भुटानले नेपालबाट केही सिक्न खोजिरहेको छ भन्ने भुटानी प्रधानमन्त्री थिन्लेको जिज्ञासामा प्रधानमन्त्री खनालले आफ्नो र नेपालका तर्फबाट सक्दो सहयोग रहिरहने जनाउनुभएको उनले जानकारी दिए । ।
हाल नेपालमा ६० हजारभन्दा बढीको सङ्ख्यामा भुटानी शरणार्थी रहेको र तिनीहरुको फिर्तीका लागि दुई देशबीचमा आवश्यक पहल गरिने बताइएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री थिन्लेले भ्रमणका क्रममा सार्कको मध्यावधि मूल्याङ्कनसहित समसामयिक विषयमा नेपालका विभिन्न उच्च ओहदाका व्यक्तित्वसँग छलफल गर्नेछन । उनले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री खनाल, सभाध्यक्ष सुवास नेम्बाङलगायत शीर्षस्थ पदाधिकारीसँग पनि भेट गर्ने कार्यक्रम छ ।