सम्झौता कार्यान्वयन माग गर्दै माथिल्लो मादी प्रभावितद्वारा आन्दोलन सुरु

Read Time:4 Minute, 44 Second

रुद्र श्रीसमगर

पोखरा,  जेठ १४ – कास्कीको उत्तर पूर्वी क्षेत्रमा पर्ने माथिल्लो मादी जलविद्युत आयोजनाका प्रभावितहरूले सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

२५ मेगावाट क्षमताको माथिल्लो मादी जलविद्युत आयोजना निर्माण सुरु गर्ने बेलामा आयोजना प्रभावित स्थानीयबासीहरूसँग भएको सम्झौता कार्यान्वयन नगरिएको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन् । चिनियाँ कम्पनीको ८० प्रतिशत र विजयबाबु मल्लको २० प्रतिशत लगानीमा निर्माण गरेको सो आयोजनाबाट विद्युत उत्पादन सुरु भएपनि स्थानीयको सरोकारप्रति कम्पनीले कुनै चासो नदेखाएको स्थानीय बलबहादुर शाहीले बताउनुभयो ।

आयोजना निर्माण सुरु भएपछि मादी पावर कम्पनी र मादी नदी जलाधार एवं प्रभावित क्षेत्र सरोकार तथा समन्वय समितिबीच २०६९ साल चैत्र २४ गते २३ बुँदे सम्झौता भएको थियो । जसमा कम्पनीका अध्यक्ष विजयबाबु मल्ल र सरोकार समितिका अध्यक्ष मीनबहादुर खनालले हस्ताक्षर गर्नुभएको थियो । ‘दुई पक्षबीच भएको सम्झौताका केही बुँदाहरू पूरा गरिएपनि महŒवपूर्ण मागहरू अझै कार्यान्वयन भएको छैन’, शाहीले भन्नुभयो, ‘स्थानीयको माग पूरा गर्न कुनै चासो नदेखाएकाले हामीले पुनः आन्दोलन सुरु गरेका हौं ।’

सम्झौतामा रहेका बुँदामध्ये पहिलो नम्बरको बुँदा कार्यान्वयन नगरिएको भन्दै स्थानीयले पुनः आन्दोलन सुरु गरेका हुन् । सो बुँदामा उल्लेखित विजयपुर खोलादेखि चाँसु र सोंधासम्म ग्रामीण सडकको मापदण्ड अनुसार बाटो मर्मतसम्भार र आवश्यक ठाउँमा नाला, ग्रावेल निर्माण र बाटो चक्लाउने कार्य वर्षायाम अगाडि गर्ने गराउने र उक्त बाटो मर्मत सुधार र चक्लाबन्दी गर्दा मादी नदी जलाधार प्रभावित क्षेत्र एवं सरोकार समितिको अगुवाइमा आवश्यक सहयोग र रेखदेखमा कार्य गराउने भन्ने छ ।साथै, बाटोमा पर्ने व्यक्तिगत लालपुर्जाको जग्गा र बाटो चक्लाउँदा आइपर्ने समस्या र अन्य जग्गाको सम्बन्धमा समन्वय गर्न समिति र आयोजनाबीच आवश्यक सहकार्य गर्नुपर्ने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।

तर, सो बुँदाको कार्यान्वयन नगरी नाली नबनाइ सडक निर्माण गरेका कारण पहिरोको समस्या निम्तिएको स्थानीयबासीको भनाइ छ । ‘स्थानीयबासीले पाउनुपर्ने शेयर समेत पाएका छैनन्’, स्थानीय सन्तोष शाहीले भन्नुभयो, ‘स्थानीयलाई रोजगारी र व्यक्तिगत जग्गाको मुआब्जा समेत नपाएकाले आन्दोलन गर्न बाध्य भएका छौं ।’ माग पूरा नभए आन्दोलन अझै विस्तारित हुने शाहीको चेतावनी छ ।मादी–७ का नवनिर्वाचित वडा सदस्य नारायणप्रसाद सापकोटाले २३ बुँदे सम्झौता अक्षरशः कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

मादी गाउँपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष लालबहादुर गुरुङले स्थानीयबासीको आन्दोलनप्रति समर्थन जनाउनुभयो । ‘अपर मादी प्रभावित स्थानीयबासीको माग पूरा गर्न मैले विशेष पहल गर्ने भनेको थिएँ’, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘दुई पक्षबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्नुको विकल्प छैन । सम्झौता कार्यान्वयन भए कुनै समस्या रहँदैन ।’ पदभार ग्रहण गरेपछि सम्झौता कार्यान्वयनका लागि कानुनी प्रक्रिया सुरु गर्ने वडाध्यक्ष गुरुङको भनाइ छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %