काठमाडौँ, १ वैशाख
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी सकारात्मक रूपमा अगाडि बढे बाँकी विषय १०÷१५ दिनमा टुङ्गिएर नयाँ संविधान जारी हुने वताएकाछन् ।
रिपोर्टर्स क्लब नेपालले उनकै निवास महाराजगञ्जमा आज आयोजना गरेको साक्षात्कारमा सभापति कोइरालाले सयमयमै संविधान जारी गर्न सकिने अवस्था हुँदाहुँदै संविधानसभाको म्याद थप्ने पक्षमा नभई समयमै संविधान जारी गर्नुपर्ने पक्षमा नेपाली काँगे्रस रहेको स्पष्ट पारे ।
सभापति कोइरालाले माओवादी लडाकुको समायोजन विभिन्न सुरक्षा निकायको मापदण्डअनुसार भिन्नाभिन्नै निकायमा हुनुपर्छ भन्दै छुट्टै फोर्स र अलग मापदण्डको कुरा सम्भव नरहेको बताए ।
एमाओवादीले अहिलेसम्म गरेका सहमति पालना नगरेर अरूबाट मात्रै त्याग खोजेको आरोप लगाउँदै उहाँले एमाओवादीलाई पूर्व सहमतिहरू अक्षरशः पालना गर्न आग्रह गरे ।
उनले लोकतन्त्र र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएकाले यसमा विवाद गर्न नहुने तर्क अघि सार्दै लोकतन्त्रको प्राण बहुलवाद, मानवअधिकार, प्रेस स्वतन्त्रता, कानुनी शासनका पक्षमा विवाद गर्नुको औचित्य नभएको स्पष्ट पारे ।
सभापति कोइरालाले भने –‘काँग्रेस वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापकै माध्यमबाट मुलुकको समस्या समाधानको पक्षमा रहेको छ र भोलिदेखि नेपाली काँग्रेस शान्ति र संविधानको सुनिश्चितताकै लागि गम्भीर छलफलमा जुट्नेछ ।
आफूमाथि निरङ्कुश ढङ्गले पार्टी चलाउन खोजेको भन्ने आरोपप्रति लक्ष्यित गर्दै उनले विधानले केन्द्रीय कार्यसमितिमा सभापतिलाई २० प्रतिशत मनोनयनको अधिकार दिएको र आफूले अहिलेसम्म सबैलाई मिलाएर लगेको दाबी गरे ।