गोविन्द घर्ती

जेठ ३ । पहिलो चरणको स्थानीय तहको निर्वाचन संगै संविधानको कार्यान्वयनको शुरुवात भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।
उहाले स्थानीय तहको निर्वाचन मार्फत आमनागरिकको अधिकार स्थापित हुदै गएकोमा जोड दिनु भयो । नेकपा एमाले देवदह नगर कमिटी र मदन–आश्रित स्मृति प्रतिष्ठान देवदह द्धारा आयोजित ट्रष्ट भवन शिलान्यास तथा स्थानीय तहको निर्वाचन प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । पुर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले स्थानीय तहको निर्वाचन पछि मुलुकको अगुवाई नेकपा एमालेले गर्ने दावी गर्नु भयो । एक फरक प्रशंगमा नेपाली राजनीतिमा मदन भण्डारी र जीवराज आश्रितको महत्वपूर्ण रहेको उल्लेख गर्दै मदन भण्डारीले प्रतिपादन गरेको विचारमा राज्य अगाडि बढिरहेको दावी गर्नु भयो । उहाले स्थानीय तहको निर्वाचनमा चुनौतीका वावजुद एमाले अग्रस्थानमा रहेको बताउनु भयो ।
उहाले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई रक्षा गर्दै संविधान शंसोधन नभई कार्यान्वयन तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । मदन आश्रित स्मृति प्रतिष्ठान देवदहका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं रुपन्देही सहईन्चार्ज एकराज विक, पार्टीका रुपन्देही अध्यक्ष शिव सुवेदी लगायतले बोल्दै हिजोका कमीकमजोरीलाई सच्याउदै अगाडि बढ्ने हो भने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्य सिद्धिचरण भट्टराईले रणनीति, यमरानाले स्थानीय सरकार, सुरेन्द्र न्यौपानेले निर्वाचनमा मिडियाको भूमिका र कमल वस्यालले निर्वाचन आचार संहिताको विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्थानीय तहको निर्वाचनका आकाक्षी, कार्यकर्ता, नेता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानका सचिव विद्यालक्ष्मी गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
