जनगणनामा मैथिली भाषा संरक्षण गर्न आन्दोलन

Read Time:3 Minute, 9 Second

राजविराज २९ चैत
राष्ट्रिय जनगणना २०६८ मा मातृभाषा हिन्दी राख्ने मधेसकेन्द्रित दलको अभियानले झस्किएका मैथिली भाषीले संस्थागत ढङ्गबाट भाषा संरक्षणको आन्दोलन सुरु गरेका छन् ।

जनगणनामा मधेसकेन्द्रित दलले मातृभाषाका रुपमा हिन्दी भाषाको वर्चस्व देखाउन अभियान थालेपछि सोविरुद्ध भाषिक तथा जातीय पहिचान स्थापित गराउने उद्देश्यले सप्तरीबाट मैथिली भाषा संरक्षणका अभियानकर्ता आन्दोलनमा उत्रेका हुन् ।

मैथिली भाषा संरक्षणका लागि गठित भाषिक जागरण अभियान समितिको सोमबार राजविराजमा सम्पन्न बैठकले समिति विस्तार र कार्यक्षेत्र विभाजन गरेको छ ।

विस्तारित समितिको संयोजकमा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष श्यामसुन्दर यादव, सहसंयोजकमा महेन्द्र ‘बनबारी’, सचिवमा करुणा झा, कोषाध्यक्षमा पार्थाे सरकार र सञ्चार विभाग प्रमुखमा श्रवणकुमार देव रहेको सञ्चार विभाग प्रमुख देवले जानकारी दिए  ।

आगामी असार महिनामा हुने राष्ट्रिय जनगणनामा मैथिली भाषालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको भन्दै विभिन्न जातीय संस्था तथा भाषिक आन्दोलनमा सक्रिय संस्थाको बृहत् भेलाले समिति गठन गरेर भाषा संरक्षणको आन्दोलन सुरुआत गरेको हो ।

मधेसकेन्द्रित दलले नेपालकै अति पुरानो मैथिली भाषामाथि प्रहार हुने गरी हिन्दी भाषालाई स्थापित गराउन थालेपछि राजविराजको मैथिली साहित्य परिषद्को नेतृत्वमा अभियान थालिएको परिषद्का अध्यक्ष देवेन्द्र मिश्रले जानकारी दिए  ।

समितिको बैठकले मातृभाषा मैथिली एवम् आ–आफ्नो जातीय पहिचान स्पष्टरुपमा उल्लेख गराउन सर्वसाधारणमाझ विभिन्न कार्यक्रम ल्याउने, आगामी वैशाख १ गते बृहत् अन्तक्र्रिया गर्ने, मैथिलीभाषाको प्रतीकअङ्कित पोसाक निर्माण गर्ने निर्णय गरेको छ ।

सप्तरीका छ वटै निर्वाचन क्षेत्रमा अन्तक्र्रिया कार्यक्रम गर्ने समितिको योजना  छ । यसअतिरिक्त सप्तरी बाहेक अन्य जिल्लामा समेत त्यहाँका स्थानीय सङ्घसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने जानकारी संयोजक यादवले दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %