चितवन ,२८ चैत
तेस्रो डिभिजन शक्तिखोर शिविरका एमाओवादी लडाकूले आफूहरूमाथि कुटपिट गरेको भन्दै त्यसको विरोधमा चितवनको जुटपानीका स्थानीय युवाहरूले अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर टाँडीमा राजमार्ग अवरुद्ध गरेका छन् ।
उनीहरूले दिउँसो १२ः३० बजेदेखि सडकमा प्रदर्शन गरेर आवागमन ठप्प पारेका हुन् । दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर उनीहरूले सडक बन्द गराएको प्रहरीले जनाएको छ ।
यस विषयमा छानबिन भइरहेको प्रहरीको भनाइ छ । हिजो फुटबल मैदानको विषयमा भएको विवाद बढ्दै जाँदा भएको झडपमा चारजना स्थानीय युवा गम्भीर घाइते भएका थिए ।
पीडित युवाहरूले भने कुटपिट गर्ने लडाकूहरूलाई कारबाहीको माग गर्दै चितवन प्रशासनमा आज ज्ञापनपत्रसमेत बुझाएका छन् । जुटपानीका स्थानीयवासी यादव पाठकले लडाकूहरूले एक्कासी स्थानीयलाई आक्रमण गरेको बताउनुभयो ।
यसैबीच एकीकृत नेकपा माओवादी चितवन क्षेत्र नम्बर २ का इलाका सेक्रेटरी पिताम्बर पौडेलले एक विज्ञप्ति जारी गर्दै घटनाको विषयमा वार्ताको तयारी गर्दै गर्दा आफूमाथि कुटपिट भएको भन्दै न्यायका लागि सबैसँग आग्रह गरे ।