गोविन्द घर्ती

चैत्र २७ – संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन भएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले संविधान कार्यान्वयन गर्नको लागि सम्पूर्ण राजनैतिक दलहरु मिलेर स्थानीय तहको निर्वाचन सफल बनाउनु पर्नेमा जोड दिएका थिए । नेकपा एमाले देवदह–५, शाखा कमिटीको भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले एमालेको नेतृत्वले मात्र विकास निर्माण संभव भएकोले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।
उनीहरुले स्थानीय निकायमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न पार्टीका सम्पूर्ण कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्ने बताएका थिए । शाखा कमिटीका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य डा. कृष्ण न्यौपाने, पार्टीका जिल्ला सचिवालय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला सदस्य प्रकाश अर्याल, झिल्लुप्रसाद न्यौपाने, क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, क्षेत्रीय सदस्य टिकाराम चापागाई, नगर अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, कृष्णराज पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
सो अवसरमा निर्वाचन पार्टी कार्यालयको समेत उद्घाटन गरिएको छ । त्यसैगरी भेलाले डा. कृष्ण न्यौपानेको संयोजकत्वमा आर्थिक व्यवस्थापन, विष्णु ज्ञवालीको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन, उमापति पाण्डेको संयोजकत्वमा मतदाता शिक्षा, झिल्लुप्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवद्धता पत्र निर्माण कमिटी गठन गरेको छ ।
त्यसैगरी डोलाराज चापागाईको संयोजकत्वमा मत सर्वेक्षण, कृष्णराज पौडेलको संयोजकत्वमा स्वयम सेवक परिचालन कमिटी गठन गरेको अध्यक्ष ज्ञवालीले बताउनु भयो । उपाध्यक्ष टेकबहादुर केसीको स्वागत र सचिव वावुराम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
