बिरुवा गाउँपालिकाको प्रथम ऐतिहासिक रमाइलो डाँडाबारी मेला सकियो

Read Time:5 Minute, 54 Second

रूद्र श्रीसमगर

 

Image may contain: 14 people, people standing and indoor

 

बिरुवा, चैत्र २५ – स्याङ्जाको बिरुवा गाउँपालिका अन्तर्गत वडा नं. २, अर्चलेमा आयोजित प्रथम ऐतिहासिक रमाइलो डाँडाबारी मेला सकिएको छ ।
 
‘स्थानीय कृषि, लोक संस्कृतिको संवद्र्धन र प्रवद्र्धन, आजको युवाको पहिचान’ भन्ने मूल नाराका साथ शनिबार देखि सुरु भएको मेलाको शुक्रबार समापन गरिएको हो । मेलाको समापन गर्दै नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य लोकबहादुर थापाले मेलाले स्थानीय पहिचानलाई स्थापित गर्न सफल भएको बताउनुभयो ।

‘क्लबको नामै मगर भाषा र ऐतिहासिक भूमिको नामबाट राखेर तपाईहरूले पहिचानको संरक्षण गर्नुभएको छ’, नेता थापाले भन्नुभयो, ‘स्थानीय स्तरमा युवाहरूलाई सकारात्मक मार्गमा डोर्याउन पनि यस्ता सिर्जनात्मक कार्यक्रमले थप योगदान दिन सक्छ ।’ देशमा सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको र देश चुनावमय बन्दै गइरहेको जनाउँदै नेता थापाले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरदैलो सम्म ल्याउन माओवादीले नेतृत्वदायी भूमिका खेलेको दाबी गर्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्ला सह–इञ्चार्ज दीपक चर्तीले स्थानीय तहको कार्यान्वयन बाट संघीयताको औपचारिका कार्यान्वयन सुरु भएको बताउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन नै माओवादीले संघीयताको एजेण्डा अघि सारेको बताउनुभयो । ‘हरेक स्थानीय तहलाई स्वायत्त अधिकार दिइएको छ’, नेता चर्तीले भन्नुभयो, ‘अब गाउँका जनताले पनि सिंहदरबारमा केन्द्रित अधिकार पाउने भएका छन्, जुन माओवादीका कारण सम्भव भएको हो ।’

बिरुवा अर्चलेका पूर्व प्रधानपञ्च स्व. रूद्रबहादुर थापाको स्मृतिमा आयोजित मेलाका मुख्य प्रायोजक बुद्धिबहादुर थापाका भाइ उमेश थापा ‘लाटो’ले युवाहरूको सशक्तिकरणका लागि यस्ता कार्यक्रमले थप ऊर्जा दिने बताउनुभयो । ‘यस्ता मेलाले स्थानीयस्तरमा आर्थिक चहलपहल बढाउने मात्र नभइ युवाहरूलाई सकारात्मक कार्यमा व्यस्त बनाउँछ’, बुटवलका सफल व्यवसायी समेत रहेका थापाले भन्नुभयो, ‘मेलाले अर्चलेको मात्र नभइ समग्र बिरुवा गाउँपालिकाकै पहिचानलाई स्थापित गर्न सफल भएको छ ।’

मेलामा राष्ट्रियस्तरमा चर्चित कलाकारहरू रामजी खाँड, निर आलेमगर, चन्द्रा कार्की, चिना थापामगर लगायतका अन्य स्थानीय कलाकारहरूले सांगीतिक मनोरञ्जन दिलाएका थिए । मेला अन्तर्गत आयोजित स्व. रूद्रबहादुर थापामगर स्मृति वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि जित्दै बालकन्या युवा क्लब, बिरुवाले ५० हजार रुपैयाँ नगद, शिल्ड र मेडल जित्न सफल भयो । भने उपबिजेतामा चित्त बुझाउन बाध्य आयोजक कानुङ मगरात युवा क्लबले ३५ हजार रुपैयाँ नगद, शिल्ड र मेडल पुरस्कार प्राप्त गर्न सफल भयो । बालकन्याले आयोजक कानुङ मगरातलाई २–१ को सेटले हराएको थियो । त्यस्तै, तेस्रो स्थानमा चित्त बुझाएको जनशक्ति युवा क्लब आर्केकोटले १५ हजार रुपैयाँ नगद, शिल्ड र मेडल जितेको छ । प्रतियोगितामा बालकन्या युवा क्लबका खेलाडी महेश खड्का वेष्ट प्लेयर अफ द टुर्नामेन्ट भए ।

त्यस्तै, मेला अन्तर्गत आयोजित ३५ वर्षमाथिको भलिबल प्रतियोगितामा आयोजक कानुङ मगरात युवा क्लब प्रथम र कमलचक्र युवा क्लब गाबुडाँडा द्वितीय भयो । त्यसैगरी, एकल नृत्य प्रतियोगितामा चुनु गुरुङ प्रथम, उर्मिला गुरुङ द्वितीय र मनिता आले तृतीय भइन् । प्रतियोगिताका निर्णायकहरूमा इशा आले, विमल थापा र सार्जन थापा हुनुहुन्थ्यो । मेलामै आयोजित गोरु जुधाइ प्रतियोगिताको उपाधि भने बिरुवा, धोवादीका जसबहादुर थापाले जित्न सफल भए ।

मेलामा स्थानीय कृषि प्रदर्शनी, भेषभूषा तथा संस्कृति प्रदर्शनीलगायत ३५ स्टल राखिएका थिए । मेलामा १५ लाखको आर्थिक कारोबार भएको क्लबका सचिव सागर थापाले जानकारी दिनुभयो । क्लबका अध्यक्ष प्रेमबहादुर थापा ‘सुन्दर’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सागर थापाले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %