गोविन्द घर्ती

चैत्र २५ – एकिकृत मगरात स्वायत्त प्रदेश विना मगरहरुको अधिकार स्थापित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टा ले बताउनु भएको छ ।
उहाले राजनैतिक दलहरुमा मगर नेतृत्व नहुदा मगर संघले उठाएका मुद्दा ओझेलमा परेको दावी गर्नु भयो । उपाध्यक्ष विरकट्टाले सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेकाले स्थानीय निर्वाचनमा मगरहरु बढिभन्दा बढि सहभागि हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले २०७४ सालको पुर्वसन्ध्यामा बुटवलमा आयोजित चिनडीके डुप्के मासवार कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले राज्यको हरेक निकायमा मगरहरुको प्रतिनिधित्व आवश्यक रहेकोले अहिलेको स्थानीय निर्वाचनमा मगर उम्मेदवारलाई जिताउन लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले मगरहरु आर्थिक विकास संगै समुदायको विकास र समाज रुपान्तरणमा मगरहरु लाग्नु पर्ने बताउदै मगर समाजमा रहेका विकृति र विसंगतिलाई हटाउनु पर्ने बताउनु भयो ।
नेपाल मगर संघका जिल्ला अध्यक्ष गीता सारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका पुर्व अध्यक्ष यमबहादुर थापा, मगर महिला संघका जिल्ला सचिव केशरी गाहा, मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष मनिष फाल, संघका पुर्व सचिव खेमेन्द्र राना, समाजसेवी गोपाल राना, संघका बुटवल अध्यक्ष गोपाल चौहान, वसन्त थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
संघका उपाध्यक्ष आनबहादुर सोतीको स्वागत र सचिव कमल थापाको संचालना कार्यक्रम सम्पन्न भएको थियो ।
