लाहुरेभन्दा अन्य पेसा नदेखेका कारण जनजाति हिजो जुन स्थानमा छ, आज पनि त्यही छ

Read Time:8 Minute, 49 Second

देवराज गुरुङ


Image may contain: one or more people and outdoor

 

जनजातिहरूमा लाहुरे ‘संस्कृति’ ले बेस्सरी गाजेको छ । विशेष गरेर गुरुङ, मगर र राई–लिम्बूहरूमा लाहुरे बन्ने प्रचलन व्याप्त छ । जनजातिहरूको लाहुरे संस्कृति हेर्दा लाग्छ– लाहुरेविनाका जनजाति ‘मणिविनाका सर्प’ अनि ‘पानी विनाका माछा’ जस्तै हुन् । पानीविना जसरी माछाको अस्तित्व हुँदैन, लाहुरविनाका जनजातिको पनि अस्तित्व छैन ।

कुनै बेला पाकिस्तानको ‘लाहुर’ नेपालीको रोजगार गन्तव्य थियो । रोजगारीका लागि लाहुरमा नेपालीको बाक्लै आउ÷जाउ हुन्थ्यो । त्यसैले रोजगारका लागि लाहुर जानेका लागि त्यतिबेला ‘लाहुरे’ भन्ने विशेषण दिइन्थ्यो । पछि रोजगारीका गन्तव्यमा विविधता आयो । बेलायत र भारतले आफ्नो सेनामा जनजातिलाई भर्ना लिन थालेपछि जनजाति त्यसतर्फ आकर्षित भए । जनजातिमा बेलायत र भारतको सेना (लाहुरे) बन्नु नै सबैभन्दा ठूलो सपनाका रूपमा दरियो । जुन अद्यपि हट्न सकेको छैन ।

जनजाति समाजमा लाहुरे संस्कृतिले यसरी जरा गाडेर बसेको छ कि कुनै युवाको सफलता/विफलता लाहुरे हुनु या नहुनुसँग जोडेर हेर्ने गरिन्छ । लाहुरे नबन्नेलाई फलानोको छोराले के गरेर खान्छ होला ? लाहुरे नै बन्न सकेन, बर्बाद नै भयो ! जस्ता वाक्यांशको प्रयोग गरेर हियाउने–होच्याउने गरिन्छ । लाहुरेबाहेकका पेसा अँगाल्नेलाई भनिन्छ– लाहुरे पो हुनुपर्छ, जाबो यस्तो पेसा गरेर पनि खान पुग्छ त ?

लाहुरेइतरका पेसामा रहेको युवालाई त्यतिबेला सबैभन्दा ठूलो मार पर्छ, जब विवाहका लागि केटीको खोजी सुरु हुन्छ । समाजमा डिग्री गरेका युवा लाहुरेकोभन्दा तल्लो कोटीमा पर्छन् र अभिभावकहरू डिग्री गरेका केटाबाट तर्किन्छन् ।
कसैले नयाँ सन्तानको रूपमा छोरा जन्मायो भने लाहुरे जस्तो छोरा जन्मेछ भनेर बाल्यकालमै लाहुरेको बिल्ला भिराउने प्रचलन जनजातिमा छ ।

आशिर्वाद दिँदा पनि भनिन्छ– लाहुरे बनोस् । समग्रमा लाहुरेभन्दा ठूलो पेसा केही छैन र लाहुरे भयो भने मात्र जीवन सुखी हुन्छ भन्ने धारणा जनजाति समुदायमा अहिलेसम्म रहेको छ ।

मेरो पल्लो घरको हजुरबाले भन्नुहुन्थ्यो– दोस्रो विश्व युद्धमा घुम्दै जाने क्रममा (मलाया– हालको मलेसिया) मा त्यतिबेला मलाया नाङ्गै माछा मार्दै हिँड्थे । उनीहरूलाई माछा खोज्दै हिँडेका भनेर हामी जिस्क्याउँथ्यौँ । प्रतिउत्तरमा उनीहरू भन्ने गर्थे– तिमीहरू पनि भात खोज्दै हिँडेको नेपाली होइन र ? आज त्यही नाङ्गै माछा खोज्नेहरूको देश कहाँ पुगिसक्यो तर हामी भात खोज्दै हिँड्ने लाहुरेहरूको देश कहाँ छ ? माछा खोज्दै हिँड्नेहरूको देशमा १० लाखभन्दा बढी नेपाली आज पनि भातको खोजीमा छन् ।

अब हामी कहिलेसम्म लाहुरे बन्ने भन्ने सोच्ने बेला आएन र ?

त्यतिमात्र होइन जनजाति समाजमा सरकारी जागिर भनेको लाहुरे मात्र हो भन्ने सोच अझै पनि कायमै छ । जनजाति समाजमा लाहुरेभन्दा माथि शिक्षक, डाक्टर, पाइलट, इन्जिनियर, निजामती कर्मचारी छन् भन्ने सोच अहिलेसम्म पनि विकस हुन सकेको छैन । यसको अर्थ पेसा र व्यवसाय ठूलो र सानो भन्न खोजेको होइन । जोड दिन खोजेको कहाँनेर हो भने देशको सुरक्षा निकायमा ५० प्रतिशतभन्दा बढी जनजाति कार्यरत छन् तर ती जनजातिले सुरक्षा निकायको उच्च पदमा पुग्ने प्रयास गरेनन् । आफूले १७÷१८ वर्षसम्म एउटै पदमा रहेर पेन्सन पकाएर आएको हुन्छ । अनि त्यही पदमा आफ्नो छोरालाई पनि जागिर खुवाउन सफल भयो भन्दै मख्ख पर्ने संस्कार छ । अधिकांश जनजातिले सोचेका हुँदैन कि आफ्नो तहभन्दा पनि माथि उच्च तहको अधिकृतहरू हुन्छन् भनेर । जनजातिहरूले म मेरो छोरालाई लाहुरे बनाउँछु भन्ने मात्रै सोचेका हुन्छन् ।

बाजेदेखि नातिसम्म एउटै पदमा जागिर खान अभ्यस्त हामी जनजातिले संस्कार र संस्कृति पनि त्यस्तै किसिमको बनाएका छौँ । गीत/सङ्गीतसमेत त्यस्तै रहेका हुन्छन् । लाहुरे दाई, लाहुरेको छोरीले … । गीत/सङ्गीतमै आफैँले आफैँलाई पछि पारिएको छ ।

अब विगतलाई दुत्कार्नुभन्दा पनि यसबाट पाठ सिकेर अघि बढ्नु बुद्धिमानी हुन आउँछ । त्यसैले २१औँ शताब्दीको युगमा पनि जनजातिका युवा लाहुरे बन्ने नाममा खसी–बोका बेचिएझैँ बेचिने होइन । हिजो पुर्खाहरूको समयमा शिक्षा लिनलाई शैक्षिक संस्थाहरू पनि पर्याप्त मात्रामा थिएनन् । जागिर खानलाई अन्य उपाय पनि थिएन । त्यसैले बेलायती र भारतीय सेना उनीहरूको पहिलो रोजाइमा प¥यो तर हिजो बाबु–बाजे लाहुरे बने भनेर हामीले त्यसैलाई निरन्तरता दिन जरुरी छैन । समय परिवेशअनुसार हामी जनजाति परिवर्तिन हुन ढिलो भइसकेको छ ।

लाहुरेभन्दा अन्य पेसा नदेखेका कारण जनजाति हिजो जुन स्थानमा छ, आज पनि त्यही छ ।

हामीले हाम्रो पेसा परिर्वतन गर्न सकेनौँ भने हामी पुस्तौँसम्म पनि यही अवस्थामा रहने लगभग निश्चित छ । त्यसैले आज अन्य जातिले हामीलाई लाहुरेहरू भन्दा लाज लाग्नुपर्ने समय आएन र ? आजभोलि अन्य जातिका मानिसले लाहुरे भनेर सम्बोधन गर्दा खिसी गरेको जस्तो लाग्छ । अर्काेतर्फ हामी वीर गोर्खाली भन्छौँ तर आज हाम्रो वीरता परदेशमा कौडीको मोलमा बिक्री भइरहेको छ । विश्वमा वीर र बहादुर जाति शासक बन्ने गर्छ तर विडम्बना हाम्रो वीर र बहादुरी त केवल तलबमा बिक्री भइरहेको छ । त्यसैले त कवि भूपि शेरचन लेख्छन्– हामी वीर छौँ र त हामी बुद्धु छौँ ।

बेलायतले लाहुरेलाई धन दिएन, तलब दियो । बेलायतले लाहुरेको दिमाग बनाइदिएन, मात्र पाखुरा सुगठित हुने तालिम दियो । हामीले कहिलेसम्म हाम्रो वीरता र पाखुरा विदेशमा निर्यात गरिराख्ने ? सोच्ने समय आएन र ?

हुन त आज बेरोजगार युवा रोजगारको सिलसिलामा खाडीमा चौकीदार र कुच्चोदार बनिरहेका छन् । अरबमा चौकीदार बस्नुभन्दा बेलायती सेना र भारतीय सेनामा लाहुरे बन्नु अलि सम्मानजनक होला तर वीर र बहादुर गार्खालीको नामले परिचित युवा लाहुरेको नाममा बेचिनु स्वाभिमानी गोर्खालीका लागि शोभनीय विषय हुन सक्दैन ।

साभार गोरखापत्र

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %