रूद्र श्रीसमगर

पोखरा, चैत्र १८ – पोखराको बगरमा सञ्चालित दुई महिने मगर भाषा साक्षरता कक्षाको समापन भएको छ ।
गत माघको १६ गतेदेखि सुरु भएको मगर भाषा कक्षाको शुक्रबार समापन गरिएको हो । समापनका अवसरमा बोल्दै मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानले जातीय पहिचानको पहिलो आधार नै मातृभाषा र संस्कृति भएको बताउनुभयो ।
‘मगर भाषा सबै मगरले जान्नु आवश्यक छ’, अध्यक्ष हितानले भन्नुभयो, ‘ऐतिहासिक कारणले मगर भाषा नबोल्ने मगर बस्तीहरूमा अब मगर भाषा सिकाउने अभियान गर्नु जरुरी छ ।’ अध्यक्ष हितानले मगर भाषा लोप हुने खतरा बढेको भन्दै मातृभाषा बचाउन सबै मगरहरू जागरुक हुनुपर्ने बताउनुभयो ।
बागलुङ–पोखरा मगर समाजका सल्लाहकार किरणप्रसाद थापाले मगर भाषा कक्षालाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै निकट भविष्यमा सबै मगर बस्तीमा भाषिक जागरण चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अब सबै मगर बस्तीमा भाषिक जागरण ल्याउनु आवश्यक छ’, थापाले भन्नुभयो, ‘मगरको पहिचान भनेको मगर भाषा र संस्कृति हो, यसलाई जगेर्ना गर्नु सबैको कर्तव्य हो ।’

सो अवसरमा बागलुङ–पोखरा मगर समाजका सल्लाहकार सुनिता राना, कोषाध्यक्ष कृष्णा पुन, चलचित्र निर्देशक सन्तोष पिठाकोटे, मगर भाषा प्रशिक्षकद्वय रूद्रबहादुर श्रीस र देउकी सिंजाली ‘दिपिका’, प्रशिक्षार्थीहरू विष्णु पुन, माया पुन, रीता श्रीस, पुनम पुन, मीना पुनलगायतले बोलेका थिए ।
बागलुङ–पोखरा मगर समाजकी महिला विभाग प्रमुख रनमाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षक रूद्रबहादुर श्रीस तथा प्रशिक्षार्थी सिम्रन रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
