रूद्र श्रीसमगर

पोखरा, चैत्र १५ – आफ्नो मातृभाषा बोल्ने रहर कसलाई हुँदैन होला र ? अझ त्यसमा पनि आफ्नो मातृभाषा गुमाएकाहरूलाई त झन् मातृभाषाको तृष्णाले सताइराखेको हुन्छ नै । विगतमा राज्यको विभेदकारी नीतिका कारण आफ्नो मातृभाषा गुमाउन बाध्य आदिवासी जनजातिहरू राजनैतिक जागरणसँगै आफ्नो मातृभाषा, संस्कृति बचाउन तिर कम्मर कसेर लागेका छन् ।
पोखराको लामाचौर बस्ने रनमाया थापालाई आफ्नो मातृभाषा बोल्न नपाएकोमा निकै खिन्नता महसुस हुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफू मगर भएर पनि आफ्नो मातृभाषा बोल्न नपाएकोमा त अभागी नै भइयो नि ।’ तर, अहिले भने मगर भाषा सिक्न पाएपछि उहाँ निकै खुशी हुनुहुन्छ । ‘जसरी भएपनि आफ्नो मातृभाषा सिक्ने चाहनाले अहिले मगर भाषा कक्षामा सहभागी भएकी छु’ उहाँले भन्नुभयो, ‘अहिले सामान्य बोलचाल गर्नसक्ने सम्म भएकोमा खुशी लागेको छ ।’
बाटुलेचौर बस्ने माया पुनलाई पनि मगर भाषा सिक्न पाएकोमा औधी खुशी लागेको छ । ‘हाम्रो बागलुङमा प्रायः मगरहरू मगर भाषा जान्दैनन्’, उहाँले भन्नुभयो, ‘विगतमा जे जति कारणले होस्, मातृभाषा गुमाएकोमा निकै दुःख लाग्छ ।’ तर, अहिले मगर भाषाको कक्षा नै लिन पाएकोमा उहाँ पनि खुशी देखिनुहुन्छ । बागलुङको छिस्ती घर भइ हाल बगर बस्दै आएकी रीता श्रीसले पनि मगर भाषा नजान्दा निकै दुःख लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मगर भाषा नजान्ने पनि के मगर हुन्छ ? भनेको सुन्दा झनै दुःख लागेर आउँछ ।’

दीप बस्दै आएकी विष्णु पुनलाई पनि मगर भाषा कक्षाले धेरैथोरै मातृभाषाको महत्व बोध गराएको छ । ‘धेरैले मगर भाषा सिकेर के हुन्छ र ? भने’, उहाँले भन्नुभयो, ‘तर, म भने मातृ भाषाको भोक, प्यास मेटाउन कक्षा लिने निर्णमा पुगें ।’ कास्कीको निर्मलपोखरीकी सिम्रन रानालाई पनि मातृभाषा नजान्दा खेप्नु परेको आफ्नै पीडा छ । ‘अब सिकेरै भएपनि हामीले आफ्नो मातृभाषा बचाउन पाइला चाल्नै पर्दछ’, उहाँ भन्नुहुन्छ, ‘मातृभाषा जानेकाहरूले नजानेकाहरूलाई सिकाउने अभियान नै चलाउनु पर्दछ ।’
भाषाविद् अमृत योञ्जन तामाङ त मगर समुदायको झण्डै दुई तिहाइ जनसंख्याले मातृभाषा बिर्सिसकेकोले मगर भाषा बचाउन धेरै ढिला भइसकेको बताउनुहुन्छ । उहाँको सुझाव छ, ‘अब मगरहरूले मगर भाषा सिकाउन मगर भाषा शिक्षण उद्योग नै खोल्नु जरुरी छ ।’
नेपालमा बोलिने मातृभाषाहरू माध्ये मगर भाषा अहिले आठौं स्थानमा पर्दछ, जबकि, मगर जातिको जनसंख्या तेस्रो स्थानमा छ । मगर भाषा बचाउन सरोकारवालाहरूले भाषण भन्दा पनि काम गर्नुपर्ने आवश्यकता देखिन्छ । पोखराको बगरमा सञ्चालित दुई महिने मगर भाषा साक्षरता कक्षामा मगर महिलाहरू आफ्नो मातृभाषा सिकिरहेका छन् ।
