रूद्र श्रीसमगर

पोखरा, फागुन २६ – आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, लगनखेल, ललितपुरको सहयोगमा नेपाल मगर संघ कास्कीको आयोजनामा आदिवासी जनजातिका निम्ति सञ्चालित ७० दिने निःशुल्क लोक सेवा आयोग ना.सु. तयारी कक्षाको बिहीबार समापन गरिएको छ ।
गत मंसिर २४ गते उद्घाटन गरिएको सो कक्षाको बिहीबार समापन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले निजामती सेवामा आदिवासी जनजातिको पहुँच बढाउन प्रतिष्ठानले देशभर तयारी कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । ‘निजामती सेवामा आदिवासी जनजाति समुदायको पहुँच बढाउन जरुरी छ’, गुरुङले भन्नुभयो, ‘त्यसैका लागि प्रतिष्ठानले देशभर लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिरहेको छ ।’

निजामती सेवामा प्रवेश गर्नका लागि आदिवासी जनजातिहरूले पनि प्रतिस्पर्धा गर्न तयार हुनुपर्ने बताउँदै गुरुङले अरुलाई गाली गरेर मात्रै प्रगति गर्न नसकिने धारणा राख्नुभयो । ‘आफ्ना बालबच्चालाई अभिभावकले पनि गाइड गर्न जरुरी छ’, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘अब विदेश जान र विदेशिनका लागि प्रोत्साहन गर्न छोड्नुपर्दछ ।’ प्रतिष्ठानले आगामी वर्षदेखि सेना, प्रहरीको तयारी कक्षा समेत सञ्चालन गर्न लागेको जानकारी दिँदै गुरुङले प्रतिष्ठानको बजेट बढाउनका लागि आफूले सरकारसँग ताकेता गरिरहेको बताउनुभयो ।
प्रतिष्ठानका पूर्व सदस्य–सचिव एवं नेपाल मगर संघका केन्द्रीय संरक्षक लोकबहादुर थापामगरले प्रतिष्ठानले हरेक वर्ष आदिवासी जनजाति उत्थानका क्षेत्रमा बजेट विनियोजन गर्दै आएको बताउँदै सरकारी बजेटप्रति आदिवासी जनजातिले चासो राख्नुपर्ने धारणा राख्नुभयो । ‘मातृभाषा सबैको पहिचानको आधार हो’, थापामगरले भन्नुभयो, ‘मातृभाषा जगेर्नाका लागि सबैले चासो लिनु आवश्यक छ ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी ‘आस्था’ मगर, अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष भीमबहादुर श्रीसमगर लगायतले प्रशिक्षार्थीहरूलाई आदिवासी जनजाति समुदायको इज्जत र प्रतिष्ठालाई कायम राख्न आग्रह गर्दै ना.सु. परीक्षाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा कक्षामा निरन्तर उपस्थित हुने र कक्षामा सञ्चालित सात वटा आन्तरिक मूल्याड्ढन परीक्षामा उत्कृष्ट हुने मञ्जिता गुरुङ र रुपा रानामगरलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगर र स्वागत कोषाध्यक्ष कुमार थापामगरले गर्नुभएको थियो ।
