रुद्र श्रीसमगर
चित्रेभञ्ज्याङ (स्याङ्जा), फागुन १८ – स्याङ्जाको पूर्वी गाविस चित्रेभञ्ज्याङको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्चको आयोजनामा प्रथम चित्रेभञ्ज्याङ सांस्कृतिक महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ ।
शनिबार आयोजित महोत्सवको उद्घाटन गर्दै चित्रेभञ्ज्याङ गाविसका सचिव शिवप्रसाद पौडेलले चित्रेभञ्ज्याङको सांस्कृतिक सम्पदाको संवद्र्धन र प्रवद्र्धनका लागि महोत्सवले महत्वपूर्ण टेवा पुर्याउने उल्लेख गर्नुभयो । यस्ता महोत्सवलाई वर्षेनी आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै पौडेलले सांस्कृतिक रुपमा चित्रेभञ्ज्याङ गाविस निकै धनी रहेको बताउनुभयो ।
सो अवसरमा समाजसेवी खिमकुमार विश्वकर्मा, प्रेम थापा, कृष्ण चन्द, पुत्पुते दोस्रो लघु जलविद्युत आयोजनाका अध्यक्ष खिमबहादुर थापा, मातृभूमि माविका प्रधानाध्यापक नारायणसिंह थापा, पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र मानवशास्त्र विभागका प्रमुख सूर्यभक्त सिग्देल, मञ्चका सल्लाहकार अमृतसिंह थापा, सल्लाहकार सुबेदार होमबहादुर थापा लगायतले महोत्सवले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा इमेज च्यानल लोककलाकार पब्लिक च्वाइस अवार्ड बिजेता नरबहादुर रानामगर सुरेश, कलावती थापा, देउकी थापा, शंकर सुनार लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए ।
मञ्चका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा भएको महोत्सवको सञ्चालन सहसचिव रूद्र ‘सन्देश’ मगरले गर्नुभएको थियो भने आमा समूहकी अध्यक्ष लेखा मल्लले गर्नुभएको थियो । सो अवसरमा महोत्सवको उद्देश्यबारे मञ्चका सचिव बुद्धिराम लम्सालले प्रष्ट्याउनु भएको थियो ।
