रुद्र श्रीसमगर

पोखरा, फागुन १८ – नेपाल मगर सांस्कृतिक संघ कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सरिता सारुमगर, सचिवमा सुरज थापामगर, सहसचिवमा सञ्जय पुनमगर र कोषाध्यक्षमा रमा रानामगर सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, सदस्यहरुमा वसन्ती थापामगर, वसन्ती सुनारीमगर, रेनु थापामगर, चिना थापामगर, झम सारुमगर, सिर्जना आलेमगर, सम्झना थापामगर, सञ्जु थापामगर, दिवस थापामगर रहनुभएको छ । बाँकी तीन सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दीपक थापामगरले जानकारी दिनुभयो ।
संघका केन्द्रीय सदस्य पदम थापामगरको अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष शिव थापामगर, म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगर र कलाकार गौरी गुरुङ थापामगर सदस्य रहेको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको कला, संगीतको उत्थानमा संघले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । आफ्नो कला र गलाका माध्यमबाट कलाकारले राष्ट्रिय चिनारी बनाउने बताउँदै रानामगरले मगर जाति कला, संस्कृतिका हिसाबले निकै धनी जाति भएको बताउनुभयो ।

नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगरले मगर कलाकारहरुलाई संगठित गर्दै मगर जातिको सांस्कृतिक पहिचानलाई स्थापित गराउन संघले अगुवाइ गर्ने उल्लेख गर्नुभयो । गीत, संगीत क्षेत्रमा लागेका मगर समुदायका कलाकारहरुलाई पर्ने पीर, मर्का र व्यथामा साथ र सहयोगका लागि संघ अग्रसर रहेको भन्दै थापामगरले मगर कलाकारहरुका निम्ति मगर सांस्कृतिक संघ आशाको केन्द्र बन्दै गएको बताउनुभयो ।
सो अवसरमा लोक तथा दोहोरी गायक कुमार पुनमगर, कलाकार गौरी गुरुङ थापामगर, नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोकामगर, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष शिव थापामगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगर लगायतले नेपाली लोक संगीतमा मगर समुदायको महत्वपूर्ण देन रहेको उल्लेख गरेका थिए । कार्यक्रममा एनी थापामगरले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता सारुमगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा इमेज लोक कलाकारका पब्लिक च्वाइस अवार्ड बिजेता नरबहादुर रानामगर ‘सुरेश’लाई सम्मान समेत गरिएको थियो ।
