थरूहटद्धारा पश्चिका आधा दर्जन जिल्ला वन्द, जनजिवन प्रभावित

Read Time:3 Minute, 19 Second

कैलाली, २५ चैत

रूहट राज्य स्वायत्त परिषद्ले आयोजना गरेको अनिश्चितकालीन बन्दले कैलालीको जनजीवन ठप्प पारेको छ ।

बन्दबाट धनगढी, अत्तरिया, लम्की टीकापुरलगायत सबै साना–ठूला बजारमा पसलहरू पूर्णरूपमा बन्द रहेका छन् भने सवारीसाधनहरू पनि चल्न सकेका छैनन् । जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइए पनि जनतामा त्रास भएका कारण उद्योग व्यवसाय तथा यातायातका साधनहरू चल्न नसकेका हुन् ।

थरूहटको बन्दलगत्तै एमाओवादीको थारू मुक्तिमोर्चाले एक विज्ञप्ति निकाल्दै बन्दको प्रतिकार गरिने बताएपछि त्रासको वातावरण कायम भएको हो ।  जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरीनायब उपरीक्षक उदयसिंह तामाङका अनुसार कुनै अप्रिय घटना हुन नदिन जिल्लाका सबै स्थानमा जनपद र सशस्त्र प्रहरीको संयुक्त तथा छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् । अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनले बताए  ।

औषधि पसल र होटलहरू खुलेका छन् । बन्दका क्रममा सुरक्षाकर्मी, सञ्चारकर्मी, मानवअधिकारवादी एम्बुलेन्स, दमकल र विवाहका गाडीबाहेक अन्य सवारीसाधन चल्न नदिने आयोजकहरूले बताएका छन् ।

यता बर्दियामा  थरूहटको आमहडतालका कारण बर्दिया, बाँके, कञ्चनपुर, दाङलगायतका तराईका जिल्लामा बजार, शिक्षण संस्था, कलकारखाना तथा यातायातका साधन सञ्चालनमा आएका छैनन् ।

परिषद्का कार्यकर्ताले टायर बालेर र मुढो तेस्र्याएर ठाउँठाउँमा सडक अवरुद्ध पारेका छन् ।  उता राजविराजमा थरूहट स्वायत्त राज्य परिषद्ले गरेको अनिश्चितकालीन बन्द आह्वानले आज बिहानैदेखि पूर्वी नेपालमा पनि गाडी चलेका छैनन् । बन्दका कारण सिरहा, उदयपुर, सप्तरी, सुनसरी, मोरङ, झापामा बिहानैदेखि यातायात सेवा ठप्प भएपछि जनजीवन प्रभावित भएको छ ।  

हालै माओवादी, एमाले र फोरमबीच भएको सहमतिको विरोधमा लक्ष्मण थारू नेतृत्वको थरूहटले पूर्वी तराईका थरूहट क्षेत्रमा बन्द आह्वान गरेको हो ।  बन्द आह्वानले ठूला सवारीसाधन नचले पनि मोटरसाइकल र बजार भने पूर्ववत रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

वर्तमान सरकार र मधेसी जनअधिकार फोरम नेपालसँग भएको चारबुँंदे सहमति खारेजीको माग गर्दै परिषद्ले चैत १० गतेबाट चरणबद्ध आन्दोलन गर्दै आएको छ । परिषद्ले हिजो साँझ तराईका विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %