गोविन्द घर्ती

देवदह, फागुन ५ – स्थानिय निकायमा चलिरहेको अनिश्चितकालिन बन्दको आज पाँचौ दिन पनि काम काज ठप्प रहेको छ ।
स्थानीय निकायका कर्मचारीलाई निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर विभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै गत आईतबार देखि देशभरका स्थानीय निकायहरु ठप्प भएका छन् । स्थानीय निकायका कर्मचारी संगठनहरुको आह्वानमा देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगर, नगर र गाविसका कर्मचारीहरु धर्नामा उत्रीएका हुन् ।
सरकारले संक्रमणकालिन र दीर्घकालिन नीति बनाउने क्रममा स्थानीय तहका कर्मचारीहरु भन्दा माथि निजामती कर्मचारी राख्ने विभेदकारी व्यवस्था गरेको भन्दै कर्मचारीले चरणबद्ध आन्दोलन थालेका हुन् । निजामती कर्मचारीलाई पहिलो दर्जामा राख्ने सामन्ति मानसिकताले गर्दा अरु कर्मचारी विभेदमा परेको आन्दोलनकारीहरुको भनाई रहेको छ ।
स्थानीय तहमा दुई प्रकारका कर्मचारी संयन्त्रको व्यवस्था नै अन्त्य हुनुपर्ने माग आफूहरुले राखेको नेपाल नगरपालिका कर्मचारी एसोसीयसन देवदह ईकाई समितिका अध्यक्ष मित्र बहादुर थापाले बताउनु भयो । आफूहरु यी सहित स्थानीय तहको चुनाव तत्काल घोषणा गर्नुपर्ने माग राखेर धर्नामा उत्रिएको उहाले बताउनु भयो ।
