रूद्र श्रीसमगर
पोखरा, माघ २१ – नेपाल मगर विद्यार्थी संघ कास्कीले मोरङको लेटाङमा सम्पन्न संघको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यद्वय प्रेम रोकामगर र लालकुमारी पुनमगरलाई सम्मान एवं बधाई ज्ञापन गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्यद्वय रोका र पुनलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य प्रेम रोकामगरले मगर जातिको हक, हित र अधिकारका पक्षमा सधैं लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्की केन्द्रीय सदस्य लालकुमारी पुनमगरले मगर विद्यार्थीहरूको सहयोग र साथले नै आफू यो स्थानमा आइपुगेको बताउँदै मगर समुदायको शैक्षिक विकासका लागि आफूले केही गर्ने अठोट लिएको सुनाउनुभयो ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर र केन्द्रीय सचिव मनोज घर्तीमगरले बधाई एवं शुभकामना दिँदै राज्यका हरेक निकायमा मगर समुदायको प्रतिनिधित्व र पहुँच पुर्याउन मगर विद्यार्थीहरूले आ–आफ्नो क्षमता विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बुढामगरले गर्नुभएको थियो ।
