गोविन्द घर्ती
देवदह, माघ १४ – तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव स्थल देवदह–१०, घोडाहामा योग शिविर शुरु भएको छ ।
महोत्सव अन्र्तगत गठन भएको योग शिविर व्यवस्थापन उपसमितिको आयोजना र दीर्घायु नेपाल देवदह नगर समितिको व्यवस्थापनमा उक्त योग शिविर शुरु भएको हो । महोत्सव अवधिभर योग शिविर संचालन गरिने उपसमितिका संयोजक सरस्वती वस्यालले जानकारी दिनु भयो । योग गरौं स्वास्थ्य रहौ भन्ने मुलनाराका साथ महोत्सव स्थलमा शिविर शुरु गरिएको र उक्त शिविर माघ २४ गते सम्म संचालन हुने उपसमितिका संयोजक वस्यालले जानकारी दिनु भयो ।
देवदह नगरपालिकालाई अध्यात्मिक नगरको रुपमा घोषणा गरिएकोले देवदहलाई अध्यात्मिक चिन्तनद्धारा समाज निर्माण गर्न लागिरहेको दीर्घायु नेपाल देवदहका अध्यक्ष ख्यामनारायण ढकालले बताउनु भयो । योग शिविर विहान ५ बजे देखि ७ बजे सम्म संचालन हुने ढकालले बताउनु भयो । नियमित रुपमा योग गरेमा स्वास्थ्य रहने भएकाले देवदह क्षेत्रमा हुने मेला, महोत्सव र विभिन्न समयमा योग शिविरलाई प्राथमिकता दिएको ढकालले बताउनु भयो ।
आम नागरिकलाई स्वास्थ्य प्रति जनचेतना जगाउने उद्देश्यका साथ महोत्सवमा योग शिविरको आयोजना गरेको दीर्घायु नेपालले जनाएको छ । योग शिविरको दीर्घायु नेपालका संरक्षक लक्ष्मीकान्त पाण्डेले एक कार्यक्रमका वीच उद्घाटन गर्नु भएको हो । योग शिविरमा मेला मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्ग, पतञ्जी योग समिति रुपन्देहीका बुद्धिप्रसाद पोखरेलको आतिथ्यता रहेको थियो । शिविरमा सरस्वती पोखरेल, कमलप्रसाद न्यौपानेले प्रशिक्षकको भूमिका निर्वाह गर्ने दीर्घायु नेपालले जनाएको छ ।
