अमरदीप मोक्तान

प्रचण्ड द्वारा गरिएको मन्त्रीमंडल विस्तार र मन्त्रि चयनले एउटा कुरा प्रमाणित भएको छ, त्यो हो नेपालको राजनीतिमा सिद्धान्त भन्ने कुरा जनता लाई झुक्याउन द्वन्द मचाउन बाहेक केहि होइन । समाजवादी जनता दलको दल दर्ता खारेज सम्बन्धि मुद्दा विचाराधीन अवस्थामा रहेको भएता पनि निर्वाचन आयोगले दर्ता खारेज गरेको दलको नेतालाई मन्त्रीमंडल विस्तार गर्दा लैजान हुन्थ्यो हुदैनथ्यो त्यति सम्म बुद्धिमता नभएको व्यक्तिले राष्ट्रलाइ समृद्धिको बाटोमा डोर्याउलान भन्ने यदि कसैले सोचेका छन् भने त्यो मुर्खता एवं भ्रम बाहेक केहि होइन । हुन त आज नेपाल जुन विषम परिस्थितिमा उभ्भिएको छ, त्यसको प्रमुख कारकतत्व मध्ये प्रचण्ड पनि एक हुन् । हुनत अद्भुत कुरा के छ भने एक सिटे पार्टी समाजवादी जनता दलका अध्यक्ष तथा नेता प्रेम बहादुर सिंह नेपालको करिश्मायी नेताको उपाधिले विभूषित गर्नु पर्ने नेता रहेछन । जुन पार्टीको सत्ता आए पनि बारम्बार मन्त्रि चयन हुनुले नेपालका एक मात्र शक्तिशाली नेता प्रेम बहादुर सिंह रहेछन भन्ने कुरा प्रमाणित भएको छ । सिंहको अपार शक्ति र पहुच कति सम्म रहेछ भन्ने उदाहरण हो । एक सिटे पार्टी भएता पनि माधव नेपाल मन्त्रीमंडलमा कानुन तथा न्याय मन्त्रि बनेर उनै प्रेम बहादुर सिंहलाइ मन्त्रि बनाउन केपी ओलीले सहरी विकाश मन्त्रालयलाई बिभाजन गरि खानेपानी तथा सरसफाई नामको नया मन्त्रालय खडा गरि दिएर मन्त्रि बनाए । हाल आएर संबिधान संसोधन पारित गर्न संख्यामा तात्विक फरक न पर्ने भएता पनि प्रधानमन्त्री प्रचण्डले जातीय वर्गीय क्षेत्रिय लिंगीय समानुपातिक समावेशी नारालाई धोति लगाउदै पुनः प्रेम बहादुर सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रि बनाउनुले प्रमाणित भएको छ ।
मन्त्रीमंडल विस्तारको सम्बन्धमा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले मुद्दा मिल्ने क्रममा साना दलका मन्त्रि थपिएको स्पस्टिकरण दिएका छन् । के वास्तवमा समाजवादी जनता दल र अखण्ड नेपाल पार्टी संग माओवादी कांग्रेस गठबन्धनको मुद्दा तथा विचार मिल्छ त ? कसलाई मन्त्रि बनाउनु पर्ने हो, नबनाउनु पर्ने हो त्यो प्रधानमन्त्रीको क्षेत्राधिकार भित्रको कुरा हो तर नेमकिपा हुदै एमाले बन्न पुगेका राजा ज्ञानेन्द्रले सत्तापलट गरेपछि राजाको पक्षमा वकालत गर्दै लाग्ने गणतन्त्र पश्चात पुनः एमालेमा फर्कन खोज्ने तर एमालेले स्थान नदिएपछि आफ्नै दल दर्ता गरि ३० दलीय विपक्षि गठबन्धनको प्रवक्ता बनेका सिंह लाई मन्त्रि बनाउन किन र कुन कारण ले आतुरता देखाए प्रचण्ड ले ? छेपारो प्रबृतिका माहिर राजनतिक खेलाडी प्रेम बहादुर सिंह प्रचण्ड प्रिय कुन कारणले बन्न पुगे ? त्यस्तै गरि गणतन्त्र विरोधीको रुपमा पहिचान बनाएका खस क्षेत्रि एकता समाज मार्फत जनजाती आदिवाशी बिरोधि अभियानको अगुवाई गर्ने अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई महिला तथा बालबालिका मन्त्रि बनाएर प्रचण्डले के संदेश दिन खोजेका हुन् ?
प्रचण्ड नेतृत्वको माओवादी काँग्रेस गठबन्धन मन्त्रि मण्डल गठन हुदा त्यसै पनि समावेशी थिएन तर दोस्रो पटक मन्त्रीमंडल विस्तारमा केहि आदिवाशी दलित मधेशीलाई राज्यमन्त्री अर्थात् पछाडी बेञ्चका छात्र बनाएर मुखमा बुजो हाल्ने प्रयाश गरियो र तेस्रो पटक मन्त्रीमंडल विस्तारमा साना दलको मन्त्रि थप्ने नाममा दुइ जना क्षेत्रि लाई मन्त्रि बनाएर बाहिर जस्तो सुकै रुपमा प्रस्तूत भएता पनि प्रचण्ड भित्र देखि घोर साम्प्रदायिक असामावेशी आदिवाशी दलित मधेशी विरोधी रहेको पुस्टि भएको छ । अहिले सम्मको राजनैतिक यात्राको सम्बन्धमा कुरा गर्दा प्रचण्ड एक वाकपटु नीतिविहीन, छ्द्म्वेशी, बहुरुपिया, झुट्टा र तराईमा एउटा चर्चित शब्द थेतर (लोक, लाज विहिन ) रहेछन भन्ने कुरा क्रमसः उजागर हुदै गएको छ । सेरेमोनियल राजा बनाउछु भनि राजालाई झुक्याए, गिरिजा प्रसाद कोइराला, माधव नेपाललाई राष्ट्रपति बनाउछु भनि झुक्याए । आदिवासी, मधेसी, सुशील कोइरालालाई प्रधानमन्त्री बनाउछु भनि मुर्ख बनाए । कहिलेकाही आफू स्वयं पनि प्रधानमन्त्री हुने अभिव्यक्ति दिएर मौकामा चौका हान्ने प्रयास गरेर विदेशी प्रभुको अनुकम्पाले दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए । बाबुराम भट्टराईको बाहिर्गमनका लागि स्वतन्त्र व्यक्तिको नाममा संविधानसभा हत्याको वातावरण निर्माण गर्ने सर्वोच्चका मुख्य न्यायधिश खिलराज रेग्मीको नाम प्रस्ताव गरि कांग्रेस, एमालेलाई समेत घुँडा टेकाउदै अन्ततः खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर नै छाडे । त्यहि खिलराज रेग्मीले (अदालत द्वारा अख्तियार प्रमुख आयुक्तका लागि अयोग्य साबित भएका) लोकमान कार्कीलाई अख्तियार प्रमुख बनाए । प्रचण्डको कारण न्यायपालिका माथि कहिले नमेटिने कालो धव्बा लागेको छ । न्यायपालिकाको गरिमा तथा निष्ठालाई इतिहासमा कलंकित बनाउन समेत चुकेनन् प्रचण्ड ।
प्रचण्डको हठधर्मिता र अदुरदर्शीताले नेपाल लाई कुन दिशा तर्फ लाने हो थाहा छैन तर एउटा कुरा स्पष्ट छ प्रचण्डका कारण नेपाल राष्ट्रले प्रचण्ड कष्ट र दुख पीडा पाउने पथमा हिडेको हो कि भन्ने आभाष हुन्छ । भनिन्छ गलत नियत तथा व्यक्तिवादी चरित्र भएका व्यक्तिको कुनै जात, धर्म, आदर्श, नीति, सिद्धान्त हुदैन । त्यस्तै चरित्र बोकेका प्रचण्डको हातमा नेपालको बागडोर पुग्नु र घटी रहेको बिभिन्न घटनाक्रमले नेपाल द्वन्दको चक्रव्यूहमा फस्दै गैरहेको प्रतित हुन्छ । राष्ट्रभक्त जनताको सचेतनाले नै राष्ट्र जोगाउन सकिन्छ तसर्थ घटी रहेका बिभिन्न घटनाक्रम प्रति खबरदारी गर्न राष्ट्रभक्त जनता चनाखो हुन अत्यन्त जरुरि छ ।