गोबिन्द घर्ती
माघ ६ । राज्य पुनः संरचना विना स्थानीय निकायको निर्वाचन हुन नसक्ने राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष मोहन धिमालले बताएका छन । धिमालले अहिले पुनःसंरचनाको मुद्दा टुङगो नलागेको अवस्थामा राजनैतिक दलहरुहरुले स्थानीय निकायको निर्वाचन गछौं भनेर आम नागरिकलाई झुक्याउने काम गरिरहेको बताए । पार्टीको २६औं स्थापना दिवसको अवसरमा जिल्ला समिति रुपन्देहीले शंकरनगरमा आयोजित सभालाई सम्वोधन गर्दै धिमालले उक्त कुरा बताएका हुन ।
पार्टीको प्रशिक्षण विभाग प्रमुख समेत रहनु भएका धिमालले पहिचान सहितको संघीयताले मात्र आदिवासी, जनजाति, पिछडा वर्ग, दलित, मधेशीहरुको अधिकार सुनिश्चित हुने भएकाले संविधान संशोधन गरेर भएपनि अधिकार सुनिश्चित गराउनु पर्नेमा जोड दिए । धिमालले संविधान संशोधनले आदिवासी जनजातिहरुको अधिकार प्राप्त हुन्छ भनेर केही राजनैतिक दलहरुले आन्दोलन गरेको आरोप लगाए। धिमालले जारी संविधानले आदिवासी, मधेशी, दलित, महिला र पिछडा बर्गको अधिकार सुनिश्चित गर्न नसकेको र संविधान संशोधनले पनि त्यसलाई छुन नसक्ने हुदा आम नागरिकको अधिकार स्थापित गर्न संविधान पुनः लेखन गर्नुपर्नेमा जोड दिए । धिमालले स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा भ्रष्टचार मौलाएको भन्दै भ्रष्टचारीलाई देशद्रोह सरह मुद्दा लगाई उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।
पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका अनुगमन मुल्याकन समितिका सचिव अशोक पुन, पार्टीका संघीय परिषद सदस्य हरिदेव थापा, भैरवा ज्ञानबहादुर थापा, दलित मुक्ति मोर्चाका हरिओम विक, संघीय महासभाका रन बहादुर राना, महिला मोर्चाका चन्दा थापा, राष्ट्रिय युवा मोर्चाका शंकर गाहा लगायतले एकाधिकारवादको अन्त्य गर्न आन्दोलनको आधीवेहरी ल्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्थापनाकाल देखि पार्टीलाई सहयोग गर्नेहरुलाई समेत सम्मान गरिएको थियो । उपाध्यक्ष मधु रानाको स्वागत, सचिव चित्र बहादुर गुरुङ्ग र सहसचिव आशा गुरुङ्गको संचालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।
