काठमाडौँ, २० चैत
उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले आगामी वैशाख २० गतेभित्रै पूर्ण आकारको बजेट ल्याउने तयारी गरिरहेको बताएकाछन ।
अर्थसचिवको राजीनामा प्रकरणमा संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिन आज उपस्थित भएका अर्थमन्त्री अधिकारीले पूरक बजेटका विषयमा छलफल भए पनि पूर्ण बजेट ल्याउन अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।
अर्थमन्त्री अधिकारीले सम्पूर्ण दलको सहमति भएमा पूरक बजेट ल्याउन सकिन्छ भन्ने विषयमा मात्र अर्थसचिव रामेश्वर खनालसँग मतभिन्नता रहेको स्पष्ट पारे ।
सचिव खनाल र मेरो बीचमा चिन्तनको मतभेद रहेको छ, अर्थमन्त्री अधिकारीले भने— यही मतभिन्नताका कारण सचिव खनालले राजीनामा दिनुभएको पक्कै होइन ।
सचिव खनालको राजीनामाको विषयलाई बढी उछालेर आफ्नो ५९ वर्षे राजनीतिक जीवनमा आँच ल्याउने कार्य भएको गुनासो गर्दै अर्थमन्त्री अधिकारीले भने– मैले प्रशासनलाई कमजोर बनाउन खोजेको छैन, म सधैँ प्रशासन बलियो बनाउनुपर्छ भन्ने पक्षमा छु ।
पूरक बजेटका विषयमा माओवादी निकट र नेकपा (एमाले) निकटका अर्थविद्सँग बसेर छलफल गरिएको बताउँदै अर्थमन्त्री अधिकारीले ठूला व्यापारीको घरमा बसेर बजेट बनाएको भन्ने हल्ला मिथ्या भएको दाबी गरे
त्यसैगरी राजस्व सचिव कृष्णहरि बास्कोटाले क्यासिनोको रोयल्टी उठाउने विषयमा लेखा समितिले दिएको निर्देशन अक्षरशः पालना गरिएको जानकारी दिँदै रोयल्टी उठाउने क्रममा कारबाहीका लागि ल्याएका कागजातहरु कानुनमा सार्वजनिक गर्न नपाइने भनिएकाले सार्वजनिक नगरेको बताए ।
उले करसम्बन्धी मामिलामा कर अधिकृतबाहेक प्रधानमन्त्रीले चाहे पनि कारबाही गर्न नमिल्ने प्रावधान कानुनमा रहेकाले यस विषयमा कसैले केही गर्न नसक्ने जानकारी दिए ।
उले अर्थ मन्त्रालय सधैँ राजस्व छली गर्नेलाई कानुनी कठघरामा उभ्याउनुपर्छ भन्ने मान्यतामा अगाडि बढेकाले राजस्व र भ्याट छली गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सभासद्ले सचिव खनालको राजीनामाका बारेमा अर्थमन्त्री अधिकारीसँग जवाफ मागेका थिए ।